पुष्पकमल दाहाल, प्रचण्ड, prachanda, pushpa kamal dahal
 

तत्कालीन नेकपा (माओवादी )का अध्यक्ष तथा जनमुक्ति सेना नेपालका सुप्रिम कमाण्डर क. प्रचण्ड गणतन्त्र नेपालका जन्मदाता हुन् । संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता सहितको “नेपालको संविधान” – २०७२ घोषणा गरी देशलाई संघीयताको नयाँ युगमा प्रवेश गराउने क्रान्तिनायक, राष्ट्रनायक क. प्रचण्डको महत्त्वपूर्ण योगदान र उहाँको भिजन र मिसनप्रति नेपाली नागरिकको हैसियतले अभिवादन टक्राउन चाहन्छु ।

नेकपाको पार्टी एकतामा सबैभन्दा बढी पसिना क. प्रचण्डकै बगेको छ । क. प्रचण्डले पार्टी एकतासहितको प्रतिबद्धता जाहेर गर्दै चुनावी गठबन्धन गरेका थिए – त्यतिखेर अर्का अध्यक्षले चुनावी गठबन्धन मात्र चाहेका थिए । सही विचार, कार्यदिशासहित निरन्तर अगाडि बढिरहने क. प्रचण्ड नेकपाको पार्टी एकताका पनि जन्मदाता हुन् ।

देश र जनताप्रति सबैभन्दा बढी माया क. प्रचण्डलाई छ । भर्खरै मात्र देशका कार्यकारी प्रमुख सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षले AP1 टेलिभिजन अन्तरवार्तामा “आमा र बच्चा”का उदाहरण दिएर “जो चोर, उसैको ठुलो स्वर” झैँ आफू “आमा” भएको दावी गरेका थिए । जुन तर्क हाँस्यास्पद तर्क हो ।

दलजीत श्रीपाली, प्रशान्त, daljit shripali
लेखक

जनयुद्धको भीषण लडाइँले तयार गरेको पृष्ठभूमिमा भएको गणतन्त्र प्राप्तिको संयुक्त आन्दोलनलाई व्यङ्ग्य गर्दै बयलगाढा चढेर अमेरिकाको यात्रा भन्दै संभवै नभएको तर्क दिएका थिए । उनको उक्त अन्तरवार्ता इन्टरनेटमा आज पनि सुन्न सकिन्छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितालाई द्वन्द व्यवस्थापनका लागि मात्र मानिदिएको कुतर्क गरिरहेका छन् ।

जातको आधारमा भागबण्डा दुनियाँमा कुन देशमा छ भन्दै संविधानमा उल्लेखित उत्पिडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको राज्यका अंग, निकायमा प्रतिनिधित्वको अधिकार विरुद्ध विषवमन गरेको उहाँको अन्तर्वार्ता आज पनि सुन्न सकिन्छ ।

जनयुद्ध, जनआन्दोलन लगायत दलित, महिला, जनजाति, आदिवासी, थारु, मधेशी, अल्पसंख्यक समुदायका अधिकार प्राप्तिका संघर्षबाट प्राप्त उपलब्धिको कुर्सीमा बसेर देश र जनतालाई नै अपमान गरिरहेका छन् । शहीद, बेपत्ता, घाइते, अपांग र महान जनताको त्याग, तपस्या र बलिदानको अपमान गरिरहेका छन् ।

असली आमाको काखबाट बच्चालाई खोसेर नक्कली आमाले बच्चालाई मृत्युको शैय्यामा पुर्‍याउँदै छन् । जब सक्कली आमा बच्चाको अगाडि देखा पर्छिन्, स्वाभाविकै रुपले बच्चा आफूलाई जन्मदिने आमासँग जान खोज्छ । त्यतिखेर नक्कली आमाले दानवीय चरित्र प्रदर्शन गर्दै बच्चालाई भित्रभित्रै चिमोट्ने, कोतर्ने, पिट्ने, रुवाउने गर्छिन् । लिन खोज्दा मारिदिने धम्की दिन्छन् । त्यो दृश्यले त्यो भावनात्मक पीडाले सबैभन्दा बढी जन्मदिने आमालाई नै पोल्छ । जस्तोसुकै अपमान सहेर, ज्यानकै बाजी थापेर पनि पटक-पटक बच्चाको मायाले गर्दा दुश्मनसँग सक्कली आमा नै पुग्ने गर्छिन् ।

आज क. प्रचण्डलाई यही हालत भएको छ । सत्य-तथ्य प्रमाण क. प्रचण्डसँग छ । तर्क चोर नक्कली आमाको काला कर्तुतहरू अवश्य पर्दाफास हुनेछन्, भइरहेका छन् । निर्णायक शक्ति जनता हो । जनताले फैसला दिनेछन् । गणतन्त्र नेपाल, संघीयता, समावेशीकरण, राज्य पुनर्संरचना, धर्म निरपेक्षता र एमाले-माओवादी मात्र नभई विगत लामो समयदेखि कम्युनिस्ट एकताको ‘सक्कली आमा’ क. प्रचण्ड नै हुन् ।

(लेखक नपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् पूर्व युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ ।)