nepal china academy, press meet
 

काठमाडौँ । नेपालको उत्तरी छिमेकी तथा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनमा केही सातादेखि देखिएको कोरोना भाइरसको विरुद्ध चालिएका कदमहरूप्रति नेपाल-चीन प्रतिष्ठानले ऐक्यबद्धता प्रकट गरेको छ ।

सोमबार बेलुकि लिखित तथा श्रब्य दृश्य सहितको प्रेस विज्ञप्ति मार्फत कोरोना भाइरस विरुद्ध कठीन संघर्ष गरिरहेका चिनियाँ जनताप्रति प्रतिष्ठानले ऐक्यबद्धतासहित सद्भाव जाहेर गरेको हो ।

काठमाडौँमा तत्काल उपलब्ध सदस्यहरुका साथ प्रतिष्ठानका अध्यक्ष मेल्सम ओझाले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा चिनियाँ जनताले वसन्त चाडलाई भव्य रुपमा स्वागत गर्ने तयारी गर्दै गर्दा कोरोना भाइरसबाट भोग्नुपरेको बिषम परिस्थितिले प्रतिष्ठान आबद्ध सदस्य तथा नेपाली जनता अत्यन्त दुःखी भएको बताइएको छ ।

नेपाल-चीन प्रतिष्ठानद्वारा अंग्रजी भाषामा जारी गरिएको लिखित प्रेस विज्ञप्तिमा कोरोना भाइरसलाई पराजित गर्ने उद्देश्यले उच्च मनोबलका साथ ज्यानको समेत प्रबाह नगरी चिनियाँ जनताको जीवन रक्षाका लागि अग्रिम मोर्चामा रहेर कोरोना भाइरस पीडित जनताको सुस्वास्थ्यका लागि अहोरात्र परिश्रम गरिरहनु भएका चिकित्सक, नर्सं, वैज्ञानिक, चिनियाँ जनमुक्ति सेना, चिनियाँ कम्युनिस्ट पार्टीका कमरेडहरु, किसान, मजदुर लगायत सबैमा उच्च सम्मान तथा धन्यवाद ज्ञापन गर्दै सो उहाँहरुको संघर्षमा नेपाल-चीन प्रतिष्ठानको समेत साथ रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाली जनताको तर्फबाट नेपाल सरकारले चीनलाई भर्खरै सहयोग उपलब्ध गराएको प्रसंग उल्लेख गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारले लिएको भाइरस विरुद्धको नीतिलाई पूर्ण रुपमा समर्थन गर्दै चीनका विभिन्न सहर तथा क्षेत्रका रहेका नेपाली विद्यार्थी तथा नेपाली नागरिकको स्वास्थ्य सुरक्षामा चीन सरकारले देखाएको जिम्मेवारीबोध तथा ख्यालविचारप्रति समेत हार्दिक कृतज्ञता प्रकट गरिएको छ ।

नेपाल-चीन प्रतिष्ठानले आफ्ना सदस्यहरुलाई कोरोना भाइरस सम्बन्धी विभिन्न अफवाहहरुलाई नपत्याउग र सही जानकारीका लागि चिनियाँ आधिकारिक समाचारपत्र, रेडियो, टेलिभिजन, अनलाइन तथा अन्य सूचना प्राप्त हुने स्रोत हेर्न, पढ्न र सत्य थाहा पाउन आफ्नो सामाजिक सञ्जाल मार्फत आव्हान गरेको छ ।

मानवजातिको इतिहासमा समय समयमा यस किसिमको भयावह स्थिति आउने गरेको प्रसंग उल्लेख गर्दै विज्ञप्तिमा तर छिमेकी चीन लगायतका अन्य मुलुकहरुले जस्तो सुकै विषम परिस्थितिमा पनि निराश नभई समाधानका विभिन्न बाटोहरु पहिल्याउँदै अघि बढ्ने कुरामा प्रतिष्ठान विश्वस्त रहेको उल्लेख छ ।

अध्यक्ष मेल्सम ओझाले प्रतिष्ठानका सदस्यहरु शिव पौडेल, प्रजित राज पराजुली, निराजन तिवारी, अनामिका कार्की, सुमन कोइराला, रमेशकुमार भट्टराई र आशिस कोखालीको उपस्थितिमा प्रेस विज्ञप्ति जारी गर्नुभएको हो ।