काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषिमा फड्को मार्नका निम्ति व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताउनुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित २ दिने ‘सहकारीमार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला’को समुद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
मन्त्री अर्यालले ‘जबसम्म भूमिको व्यवस्थित वैज्ञानिक सुधार गरिँदैन, तबसम्म हामीले कृषिमा फड्को मार्न नसक्ने’ बताउनुभयो । ‘कृषिको व्यवसायीकरण र यान्त्रिकीकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौँ न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छ’, मन्त्री अर्यालले भन्नुभयो । त्यसका निम्ति सहकारी क्षेत्र महत्त्वपूर्ण भएको उहाँको विचार थियो ।
अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने बताउनुभयो । यसलाई स्थापित गरेर छाड्ने उद्घोष गर्दै सहकारी क्षेत्रलाई अर्थतन्त्र निर्माणका निम्ति अगाडि बढाउन आवश्यक रहेको मन्त्री अर्यालले बताउनुभयो ।
भूमिसुधार गर्ने कुरा ठूलो विषय भएको भन्दै उहाँले तर त्यो विषय त्यति सजिलो नभएको बताउनुभयो । निजी सम्पत्तिको रुपमा दिइसकेकाले राज्यले चाहेर पनि व्यक्तिको निजी सम्पत्ति उलटपुलट पार्न नसक्ने बताउनुभयो । व्यक्तिको निजी सम्पत्तिको रक्षा गर्ने दायित्त्व राज्यको हुनेछ भनेर संविधानमा लेखेको भन्दै उहाँले क्षतिपूर्ति दिएर व्यक्तिको निजी सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यको नभएको उहाँले बताउनुभयो ।
चरम पुँजी जम्मा नगरिकन समाजवादमा जानै नसकिने भन्दै मन्त्री अर्यालले समाजवादमा पुग्नका निम्ति अधिकतम पुँजीको विकास, अधिकतम रोजगारीको सिर्जना र अधिकतम उत्पादनमा बृद्धि पहिलो शर्त भएको बताउनुभयो ।
हिजोका दिनमा छाडेका साना उद्योगहरुको विकास तथा बिस्तार गर्ने कुरामा जानुपर्ने भन्दै उहाँले त्यसमा कसरी सहकारीलाई जोड्ने भन्ने कुरामा ध्यान दिन जरुरी भएको बताउनुभयो । भएका उद्योगहरूलाई आधुनिकीकरण गर्ने प्रश्न पनि तपाईंहरूको ठाउँमा छलफल गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
मन्त्री अर्यालले भन्नुभयो, ‘निर्वाहमुखी कृषि प्रणालीमा आश्रित भएका जनशक्तिलाई हामीले यान्त्रिकीकरणमार्फत निर्वाहमुखीबाट सम्पन्न बनाउने ठाउँमा कसरी लैजान सक्छौँ ? कृषिको विकास र यान्त्रिकीकरणको प्रयोगमार्फत अगाडि जाने ।’
सामाजिक रुपान्तरणसहितको समाजवाद भनेको भन्दै उहाँले जुन समाजका निम्ति अत्यावश्यक रहेको बताउनुभयो । आर्थिक विकास मात्र भएर नहुने भन्दै उहाँले सामाजिक न्यायसहितको आर्थिक विकास स्थापित गर्ने अबको अभिभारा भएको उहाँको भनाइ थियो ।
उत्पादक शक्ति र राष्ट्रिय पुँजीको विकास गर्ने कुरा आजको महत्त्वपूर्ण एजेण्डा भएको भन्दै मन्त्री अर्यालले त्यसको बाधक तत्त्व के हुन् र त्यसको पहिचान गरेर त्यसको समाधान कसरी गर्ने भन्ने महत्त्वपूर्ण विषय भएको बताउनुभयो । ‘बाधक तत्त्वको रुपमा रहेको दलाल पुँजीवाद र एकाधिकार पुँजीवादको अन्त्य नगरिकन राष्ट्रिय उत्पादन र राष्ट्रिय पुँजीको विकास गर्न सकिँदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘विचारमा स्पष्ट, दिशामा स्पष्ट र कार्यक्रमिक एकरुपताका साथ अगाडि बढेमा हामीले चाहेका कुरा प्राप्त गर्न सक्छौँ ।’
तीन वटा खम्बामध्येको एउटा खम्बा सहकारी भन्ने गायत्री मन्त्र नभएको भन्दै मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणको एउटा खम्बा सहकारी भन्ने कुरा गायत्री मन्त्र जपाइ नभएको बताउनुभयो । कानुनी बाधा हटाउने कुरामा अब गतिविधि केन्द्रित भएर छलफल गर्नुभयो ।