महिला तथा सज्जनवृन्द,
मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु ।
यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै चिनियाँ जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठका अवसरमा चिनियाँ सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहान्छु ।
विश्व आज गम्भीर परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरिबी घटेको छ । स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ । र धेरै अर्थतन्त्रहरु समृद्ध बन्दै गइरहेका छन् । अभुतपूर्वस्तरका प्रारम्भिक क्रान्तिले सम्भावनाहरुको ढोका खोलिदिएको छ । आपसी सहयोग नभएको भए यी उपलब्धीहरु सम्भव हुने थिएनन् । आपसी सहकार्यविना यी सफलता सोच्न सकिने थिएन ।
यसका बाबजुद नयाँ तथा पुराना चुनौतीहरु स्पष्ट रुपमा देखा परेका छन् । सम्पत्तिको असमान वितरण व्याप्त छ । धेरैका लागि विकासका प्रतिवद्धताहरु पूरा भएका छैनन् । करोडौं मानिसहरु गरिबीको अमानवीय चक्रमा अहिले पनि बाँचेका छन् । संरक्षणवाद र एकांकी प्रवृत्तिहरु सतहमा आइरहेका छन् । त्यसप्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धीहरुलाई संकटमा पार्ने मात्र नभइ भावि पुस्तालाई समेत अन्यायमा पार्ने छ । विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ ।
तसर्थ विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ । सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ । एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । धेरै समृद्ध सभ्यता भएकाले एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित हुनुपर्दछ ।
बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको छ । यो सहकार्य, सहयोग र सम्पन्नताको लागि एक महत्वपूर्ण क्षण हो । आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामुलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो । यसले कनेक्टिभिटीको प्रवर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवम् बाहिरका देशहरुमाझ बिभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकांकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवर्द्धन गर्दछ ।
विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्दछ । साथै विकासको फलबाट कुनै पनि विचार र कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ । बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ ।
नेपाल चीन सीमाना पार रेलवे लगायत हिमालय वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग समेत कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ । लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ ।
अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुनु हाम्रो तत्कालको उद्देश्य हो । हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं । हाम्रा विकासका चुनौतीहरु सामना गर्न छिमेकीहरु लगायत अन्य मित्र राष्ट्रहरु तथा विकासका साझेदारसँग द्वीपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहान्छौं ।
अन्तमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामुहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो वेल्ट एण्ड र रोड फोरम सक्षम हुने छ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना दिन चाहन्छु ।
धन्यवाद ।