PM KP Sharma Oli and Chairman Prachanda
 

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा देश नै खुशी हुनु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं पार्टी स्थापना दिवस तथा कम्युनिस्ट नेता लेनिनको १३९औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाइ आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको र दुईवटा ठूला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनु पर्ने बताउनुभएको हो ।

‘हाम्रो एकतामा कम्युनिस्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘किनभने यो स्थिरताको सुरुवात हो । देश अघि बढाउने कार्ययोजनाको एकता हो ।’ उहाँले लामो संघर्ष र बलिदानबाट आजको समयसम्म आइपुग्दा कम्युनिष्टहरुले देखेको सपना पुरा भएको बताउँदै यो जित सहजै प्राप्त  भएकाे नभइ चर्को मूल्य चुकाएर सफलता हासिल भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कुनै बेला कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीत ‘हामी जित्नेछौं एक दिन’ खुब गाउने गरेको प्रसङ्ग निकाल्दै आज कम्युनिस्टहरुले जितेको दिन भएको बताउनुभयाे । ‘त्यतीबेला हामी जित्नेछौं, एकदिन भन्ने गीत गाउथ्यौं तर आज हामीले जितेका छौं ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो  – ‘लामो समयसम्म स्वार्थको राजनीति भएर कम्युनिस्टहरुले जित्न सकेनन् । जब आफ्नो स्वार्थ गौंण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्युनिस्टले जित्यो ।’

प्रधानमन्त्री ओलीले कांग्रेसका केही नेताले अझै पनि राजतन्त्र ब्यूँताउने सपना देखेकाे आराेप लगाउनुभयो । बिगतमा कांग्रेसका कारण प्राप्त उपलब्धिहरु जोगाउन नसकिएकाे भन्दै उहाँले  सहयात्रीहरुलाई अविश्वास गर्ने र विरोधीहरुसँग मिल्ने  कांग्रेसकाे बानी रहेकाे र अहिले पनि त्यो बानी नगएकाे प्रधानमन्त्रीकाे भनाइ थियाे । मानिस जन्मको आधारमा शासक हुने प्रबृत्ति लोकतन्त्रमा हुन्छ ? उहाँको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ति राम्रा काम गरिरहेको स्पष्ट पार्नुभयो । महाभारतकी गान्धारीले आँखामा पट्टी बाँधेकाे हुनाले केही नदेखेकाे बताउँदै प्रधानमन्त्री ओलीले अहिलेका केही मानिसले चेतनामा पट्टी बाँधेको हुनाले सरकारको काम नदेखेकाे आराेप लगाउनुभयाे । प्रधानमन्त्री ओलीले केही दिनपछि आउन थालेकाे सरकारको नीति तथा कार्यक्रममा गत वर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने बताउनुभयाे ।

मुलुकमा तीव्रतर आर्थिक वृद्धि भइरहको भन्दै उहाँले मेलम्ची आयोजनाका एउटा ठेकेदार भागे पनि कामलाई अवरुद्ध हुन नदिने बताउनुभयो । भ्रष्टाचारीलाई नियन्त्रण गरेरै छाड्ने दाबी गर्दे प्रधानमन्त्री ओलीले अहिले विभिन्न प्रकारका तस्करी हट्दै गएको र मुलुकमा शान्ति सुव्यवस्था कायम भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियताको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुर्याएकाे धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले  आफ्नो पार्टी देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताका पक्षमा भएको बताउँदै अब जग थप मजबुत भएको दाबी समेत गर्नुभयो ।