सबै प्रकारका हतियारहरु युद्ध र नरसंहारका साधनहरु हुन् । ती ध्वंस र विनाशका कारकहरु हुन् । त्यसमा पनि आणविक तथा पारमाणविक हतियारहरु त विशालस्तरमा ध्वंस गर्ने साधनहरु हुन्, जसलाई आम नरसंहारकारी हतियारहरु यानेकि ‘विपन्स अफ मास डिस्ट्रक्सन’ भनिन्छ ।
जबसम्म यो धर्तीमा हतियारहरु रहन्छन्, विश्वमा शान्ति र अमनचयनको परिकल्पना गर्न सकिँदैन किनकि हतियारहरु युद्धमा प्रयोग गर्नकै लागि निर्माण, खरिद र विक्रि गरिन्छ । तसर्थ हामी सबै प्रकारका युद्धहरु र ती युद्धका साधनको रुपमा रहेका सबै प्रकारका हतियारहरु मुक्त संसारको पक्षमा छौँ । त्यति मात्रै होइन, हामीले त हतियार चलाउने र चलाउन आदेश दिने राज्यसत्ता विहीन संसारको स्थापना हाेस् भन्ने चाहन्छाैँ । त्यसका लागि निकै लामो समय लाग्न सक्ला । त्यतिबेला सम्मका लागि हामी कम्तिमा पनि जतिसक्दो छिटो आणविक तथा पारमाणविक हतियार लगायतका सबै आम नरसंहारकारी हतियारमुक्त विश्व चाहन्छौँ ।
परन्तु जबसम्म संसारमा गरीब र कमजोर देशहरु माथि निरन्तर रुपमा युद्ध थोप्दै आएका उपनिवेशवादी तथा साम्राज्यावादी देशहरुसँग आम नरसंहारकारी हतियारहरु रहन्छन्, तबसम्म संसारका अन्य उत्पीडित राष्ट्रहरुलाई पनि आफ्नो प्रतिरक्षा गर्नका लागि त्यस्ता हतियारहरु निर्माण गर्ने अधिकार हुन्छ र हुनु पर्छ । यो तथ्य हो, जुन सामाजिक न्यायको सिद्धान्त अनुरुप छ । तर यस्तो कुरा साम्राज्यवादीहरु र तिनको रसदपानीमा चल्ने गरेका चाटुकारहरुलाई पटक्कै मन पर्दैन ।
पारमाणविक अप्रसार सन्धिको दुहाई दिँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र इरान लगायतका देशहरुमाथि शृंखलावद्ध नाकाबन्दी लगाइएको छ । सो सन्धिमा हस्ताक्षर गरेका वा नगरेका अरु विभिन्न मुलुकहरु छन्, जोसँग यी आम नरसंहारकारी हतियारहरु ठूलो परिमाणमा छन् । तर तिनीहरुको विरुद्धमा कुनै नाकावन्दी लगाइएको छैन । बरु विगतमा लगाइएको नाकावन्दी पनि हटाइएको छ । प्रजग कोरिया स्वयम्ले पनि आणविक हतियारहरु निर्माण गर्न थालेको त केही समय मात्रै भयो । तर त्यहाँ झण्डै पैँसठ्ठी वर्षदेखि अविछिन्न रुपमा नाकावन्दी लगाइएको छ । समाजवादी गणतन्त्र क्युवासँग कुनै पनि आणविक वा अन्य आम नरसंहारकारी हतियारहरु छैनन् । तर क्युवाले पनि विगत पाँच दशकदेखि नाकावन्दी झेल्दै आएको छ । संयुक्त राष्ट्र संघले सो नाकावन्दी अन्यायपूर्ण र अनुचित भएको ठहर गर्दै हटाउनका लागि पटक पटक प्रस्ताव पारित गर्दै आएको छ । ती प्रस्तावको विपक्षमा सँधै केवल दुई मत (संयुक्त राज्य अमेरिका र इजरायल) मात्रै पर्दछ भने संयुक्त अधिराज्य लगायत चार–पाँच मत तठस्थ रहने गरेको छ । तर बाँकी संयुक्त राष्ट्र संघका सबै सदस्यहरुले नाकावन्दी हटाउने पक्षमा मतदान गर्ने गरेका छन् । परन्तु आजसम्म पनि क्युवामाथि लगाइएको नाकावन्दी हटाइएको छैन ।
आणविक अप्रसार सन्धिको बाबजुद संयुक्त राज्य अमेरिका, रुसी महासंघ, संयुक्त अधिराज्य, इजरायल, भारत र पाकिस्तान लगायतका देशहरुले निरन्तर रुपमा आणविक परीक्षणहरु गर्ने गरेका छन् । अमेरिका र रुसले त पटक पटक अति घातक हतियारहरुको समेत परीक्षण गरेका छन् । भर्खरै मात्रै अमेरिकाले ‘मदर अफ अल बम्बस्’ र रुसी महासंघले ‘फादर अफ अल बम्बस्’ उपनाम दिइएका हतियारहरु परीक्षण गरेका छन् । इजरायलले पनि त्यसै गर्ने गरेको छ । तिनीहरुको विरुद्धमा अहिलेसम्म कहिल्यै नाकावन्दीको प्रस्ताव गरिएको छैन । भारत र पाकिस्तान माथि विगतमा लगाइएका नाकावन्दीहरु समेत साम्राज्यवादी देशहरुको स्वार्थसँग बाझेकोले हटाइएको छ । त्यसपछि पनि भारतले निरन्तर रुपमा आणविक परीक्षण जारी राखेको छ ।
यसको अर्थ हो, आणविक अप्रसार सन्धि र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक त केवल हात्तीको देखाउने दाँत जस्तै हुन् । नाकावन्दीको गुह्य कुरा अलग्गै छ । त्यो हो – यो नाकावन्दी आणविक हतियारको विरुद्धमा होइन, समाजवादी राष्ट्रहरु र साम्राज्यवाद विरोधी राष्ट्रहरुको विरुद्धमा लगाइएको हो । आफ्नै कमजोरीले नाशवान पुँजीवादको ढल्दो साम्राज्यका आम जनता समाजवादी राष्ट्रहरुमा भएको विकास र जनताको समृद्धि देखेर त्यतातर्फ आकर्षित नहोऊन्, साम्राज्यवादी देशहरु र अन्य विकासशील देशहरुमा उत्तर कोरिया, क्युवा, भेनेज्युयला लगायतका देशहरुको प्रभाव नफैलियोस् र ती देशका जनता पुँजीवादको विरुद्धमा विद्रोहमा नउत्रिउन् भन्नका लागि हो । उत्तर कोरियाको सन्दर्भमा यो जनवादी गणतन्त्र चीनलाई घेर्ने र रुससँग युद्धको तयारी गर्ने कुरा पनि जोडिएको छ ।
यदि समाजवादी गणतन्त्र क्युवा र प्रजग कोरियाको विरुद्ध लगाइएको नाकावन्दी हटाउने हो भने ती देशहरु आ–आफ्ना विशिष्टताका कारणले संसारका सबैभन्दा तीव्र गतिमा विकसित र महाशक्ति देशहरु बन्न सक्छन् । ती दुवै देशहरु संसारका सबैभन्दा समृद्ध, विकसित, विभेद विहिन, शान्ति र अमनचयनयुक्त देशहरु बन्न सक्छन् । त्यसैले आफूलाई महाशक्ति सम्झिने साम्राज्यवादीहरु समाजवादबाट त्रसित छन् र समाजवादी राष्ट्रहरुलाई कमजोर बनाउनका लागि नाकावन्दीको सहारा लिएका छन् । यसको अर्थ हो, साम्राज्यवादीहरुले समाजवादसँग र संसारभरी साम्राज्यवादको विरुद्धमा बढ्दै गरेको र बढ्न सक्ने प्रतिरोधसँग तर्सेर नाकावन्दीको सहारा लिएका हुन् । पुँजीवादका कमजोरीहरु ढाकाछोप गर्न र पुँजीवादमाथि समाजवादको श्रेष्ठतालाई लुकाउनका लागि तिनीहरुले नाकावन्दीको मद्दतले समाजवादी देशहरुलाई आर्थिक रुपमा समस्याग्रस्त बनाउने र कुटनीतिक रुपमा एक्ल्याउने नीति लिएका हुन् ।
समाजवादी गणतन्त्र क्युवा, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, गणतन्त्र भेनेज्युएला लगायतका देशहरुको विरुद्धमा लगाइएको अन्यायपूर्ण, विभेदपूर्ण, पूर्वाग्रहयुक्त र अमानवीय नाकावन्दी अबिलम्ब खारेज गरिनु पर्छ । संसारभरका संयुक्त राज्य अमेरिकाका सैन्य अखडाहरु र गोप्य जेलहरु अबिलम्ब हटाइनु पर्छ । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई अविलम्ब विघटन गरिनु पर्छ । विश्वलाई आम नरसंहारकारी हतियारमुक्त बनाउने अभियान सुरु गरिनु पर्छ र त्यसका लागि सबैभन्दा पहिले संयुक्त राज्य अमेरिका र उसका साझेदार राष्ट्रहरुसँग भएका सम्पूर्ण आम नरसंहारकारी हतियारहरु नष्ट गरिनु पर्छ । अनि मात्रै विश्वमा शान्ति र अमनचयन कायम हुनेछ ।
(लेफ्ट रिभ्यु वर्ष ६ अंक १ बाट)