काठमाडौँ । किम तोक हुन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
कोरियाली जनताका सर्वोच्च नेता तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्य व्यवस्था समितिका अध्यक्ष किम जोङ उनद्वारा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको मन्त्रिपरिषद्को नयाँ प्रधानमन्त्री पदमा किम तोक हुन नियुक्त हुनुभएको हो ।
कोरियाली सरकारी सञ्चार माध्यम कोरियाली केन्द्रीय समाचार संस्थाका अनुसार राज्य व्यवस्था सम्बन्धी निर्णय गर्ने देशको सबैभन्दा उच्च निकायको रूपमा रहेको राज्य व्यवस्था समितिद्वारा अगस्त १३, २०२० (जुछे १०९) मा एक आज्ञप्ति जारी गर्दै सो कुराको घोषणा गरिएको हो ।
सर्वोच्च नेता किम जोङ उनले किम जाए र्योङलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको मन्त्रिपरिषद्को प्रधानमन्त्री पदबाट पदमुक्त गरी किम तोक हुनलाई नयाँ प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ, आज्ञप्तिमा उल्लेख भएको कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।
नयाँ प्रधानमन्त्री किम तोक हुन, ५९, यसपूर्व प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको संसदीय बजेट समितिका प्रमुख हुनुहुन्थ्यो ।
समाजवाद निर्माण अभियानमा लागिपरेको र साम्राज्यवादी अमेरिकासँग सिधा टकराव गरिरहेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियामा नयाँ प्रधानमन्त्रीको नियुक्तिलाई विश्वभर विशेष महत्त्वका साथ हेरिएको छ । विश्वभरका विभिन्न देशहरूबाट नयाँ प्रधानमन्त्रीको नियुक्ति भएकोमा बधाई सन्देश प्रदान गरिएको छ ।