कोरोना महामारी, बेसहारा, लकडाउन
 

मृत्यु अन्तिम सत्य हो, त्यसमा उनीहरु ढुक्क छन् । आफ्नै अघिल्तिर कैयौँ संगीहरु घाटमा पुरेर आएको सम्झना उनीहरुसँग छ । ६ दशक अरुकहाँ गोठालो बसेर बृद्ध अवस्थामा यहाँ जीवनको उत्तराद्धमा आइपुगेका पनि छन् । छोराछोरी नभएका र समाजले दुर्व्यवहार गरेका ज्येष्ठ नागरिक पनि यहाँ बस्छन् । मकन हरे शिव ! याँमानका सुनका साङ्ला हातमा बेरेर घाँटीमा उस्तै सुनको गलपासो लगाएका आफन्तहरु बृद्धाश्रममा बितेका आफन्तको सत्गत गर्न र एकछाक नून बार्न आउनेहरु पनि थिए ।

युवा अवस्थामा ७ धाम घुमेर पहेँलो टालो गुथ्दै आश्रमको शरणमा आएका आमाहरु पनि एकै ठाउँमा छन् । फकाइफुलाई सम्पत्ति आफन्तले हत्याएर अन्तिममा गलहत्याइएका आमाबुवा पनि आश्रममा छन् । उनीहरु जसरी आए पनि आए ।सहृदयी समाजसेवीहरुले पोका-पुन्तुरा बोकेर सडकमा हिँडेकालाई औषधिमूलो गरी सुधार गर्न ल्याएका शारीरिक, मानसिक अपाङ्गहरु त थुप्रै छन् ।

सडकबाट उठाएर सरकारी निकायबाट आश्रममा ल्याएका आमाबुवा पाल्ने दायित्व सरकारको थियो । गण्डकी प्रदेशमा सरकारले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाएको थियो । अहिले कोरोनाले उनीहरुलाई आश्रमका ती अनाथ आमाबुवालाई हेर्ने फुर्सद प्रशस्त मिल्नुपर्ने हो तर त्यसो भइरहेको छैन । कतिपय आश्रमहरुको एउटै गुनासो छ प्रदेश ता के स्थानीय सरकार समेत यस्तो कुरामा बेखबर छ । महानगर र वडाहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्न नसकेर अविभावकत्व गुमाएको तितो अनुभूति हुँदैछ । एक दुई जना मनकारी व्यक्तिहरु बाहेक आश्रमहरुमा राहतका कुनै सामग्री आइपुगेन भनेर पोखरामा रहेका पोखरा बृद्धाश्रम, राधाकृष्ण, बात्सायन, कृष्ण प्रणामी बृद्धाश्रमका स्वयमसेवीहरुले बताएका छन् ।

बितेका अढाई दशकसम्म समुदायले ज्येष्ठ नागरिकहरुको हक-हितमा काम गरेर ठिकै काम गरे । नेपालमा ज्येष्ठ नागरिकहरुलाई केही व्यवस्था सुरु गर्नुपर्छ भनेर पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले आरम्भ गरेको बृद्धभत्ताका कारण राज्यले न्याय गर्छ भन्दै धेरै ज्येष्ठ नागरिकहरुले सम्झने गर्दथे । अहिले राज्यको संरचना फेरिएको छ । सिंहदरवारको अधिकार टोलटोलमा भन्ने गरिएको छ । मानव अधिकार र न्यायको परिभाषा परिमार्जन हुँदै गरेको बर्तमान अवस्थामा असहाय समुदायले हिजोको भन्दा मात्रात्मक एवम गुणात्मक रुपमा सहयोग र सहानुभूतिको आशा गर्नु स्वभाविकै थियो । सबैलाई थाहा भयो व्यवहारमा त्यो सावित हुन सकेन ।

पोखरामा रहेका बृद्धाश्रमका समिति, स्वयम्‌सेवक यतिबेला आम नागरिक जस्तै निराश छन् । कुनै पनि तहको सरकारले उनीहरुलाई ढाडस दिने काम गर्न सकेन । घर-परिवार त उनीहरुका लागि टाढा बनिसकेको थियो, कोही दानवीर आएर भोजन गराउँदा र लगाउने लुगा दिँदा गद्‌गद हुने गरेका ती ज्येष्ठ नागरिकहरु यतिबेला सुनसान बृद्धाश्रममा रमाउन सकेका छैनन् । कोरोनाको संक्रमण र लकडाउनका कारण अहिले भेटघाट गर्न मानिसहरु आएका छैनन् । आश्रमहरुमा खाने, पिउने, औषधि र स्वास्थ्य सरसफाइका सामग्री सिद्धिएका छन् ।

बेलाबेलामा आफन्तहरु बाहेक भेट्न आउनेहरुको आगमनले आश्रमका ज्येष्ठ नागरिकहरुमा खुशी तुल्याउँथ्यो । आवत जावत नहुँदा अहिले ज्येष्ठ नागरिकहरुमध्ये कतिपय यस अवसरमा नैराश्यता बृद्धि भएर बिरामी बनेका छन् । उनीहरुलाई हेर्ने निकाय वास्तवमा सरकार हुनुपर्ने हो । हिजोदेखिको यहाँको चलन सरकार कहिल्यै उत्तरदायी हुन सकेन । असहाय बेवारिसे, अशक्त ज्येष्ठ नागरिकहरुका बारेमा मात्र होइन सबै ज्येष्ठ नागरिकका हक-अधिकारबारे संविधान र कानुनमा थुप्रै व्यवस्था बनेका छन् । ती कार्यान्वयनमा अत्यन्त फितलो भएको महशुस गरिएको छ ।

सरकारपछि त्यस्ता ज्येष्ठ नागरिकको हकहितका लागि काम गर्ने अर्को निकाय संस्थाको समिति हो । समितिका मान्छेहरु कोरोना र लकडाउनका कारण आश्रम सम्म जान आउन सकेका छैनन् । प्रायः धेरैले आश्रमसम्म आउन जान डर मानेका छन् । आश्रममा कार्यरत सेवक-सेविकाहरु भन्दछन् ‘टाढा भएर आउन नसक्नेहरुलाई भन्नु केही छैन, नजिक भएर आउन सक्नेहरु पनि चुपचाप छन् । उनीहरुमा पनि एक प्रकारको त्रास भएर होला ।’ आश्रममा बस्ने आमाबुवाहरुले आफ्नो संरक्षक खोज्नु स्वभाविकै हो । आश्रममा आउँदा-जाँदा बाटोमा स्वास्थ्य सुरक्षाका कारण हिँड्न पाइँदैन । कतिपय ठाउँमा सुरक्षाकर्मीले रोक्नु पर्‍यो । सुरक्षित यात्राको प्रबन्ध भएको भए हुन्थ्यो भन्ने स्वयमसेवीहरुको गुनासो छ ।

ओठेभक्तिका संरक्षकभन्दा छिमेकीले साथ देलान् कि ? आश्रम सञ्चालकहरु बताउँछन्, ‘छिमेकी पनि डरमा छन्’ । एकातिर कोरोनाकै डर, अर्कोतिर सहयोग गर्न नसक्ने अवस्था भएर होला, उनीहरु पनि असहाय र बेवारिसेलाई भेट्न आउँदैनन् । निसास्सिएर मर्ने बेला सबै वर्ग र तप्काको छ । खाद्य, औषधि र परामर्श सहयोग गर्नसक्ने अवस्था नभएर होला उनीहरु पनि आउँदैनन् । आत्महत्याको श्रृखला भोकमरी, गरिबी, ऋण, बेरोजगारी, पारिवारिक कलह, तनाव र बिग्रँदो व्यवहारले बढेको छ । त्यो महासंकटबारे समाजमा चर्चा कम हुने गरेको छ । आम नागरिक जस्तै ज्येष्ठ नागरिकहरु घरघरमा प्रताडित छन् भन्ने अनुमान गरिएको छ ।

छोराछोरी, नाति-नातिना र बुहारीको आ‍-आफ्नै समस्या हुँदा हुन् । घर परिवार, समाज र राष्ट्रभरिको यो समस्या बढ्दो छ । साझा समस्या समाधान गर्न सरकारले ल्याएको नीति तथा कार्यक्रम पर्याप्त छैन । सामाजिक अगुवा र अधिकारकर्मीहरु झिनो स्वरमा बोल्दै होलान् । कथित बुद्धिजीवीहरु सल्बलाएका छैनन् । सायद भागबण्डामा रमाउँदै गर्दा ठुलाठुला स्वरमा सम्मेलन र गोष्ठीको याद आउँदो हो । अहिले उनीहरु पनि चुपचाप छन् । कोरोनाको कहर र लकडाउनको अनुभूति बताइरहँदा मृत्युतुल्य बहाना बनाउन जो कोही स्वतन्त्रताप्रेमीलाई मन लाग्दैन होला । एउटा प्रेस स्वतन्त्रता सेनानीका हैसियतले केही अण्टसण्ट लेख्यो भनेर नठानिदिनु होला । आफू स्वयम्‌ कपाल फुल्दै गरेको ज्येष्ठ नागरिक हुँदै गर्दा ज्येष्ठ नागरिक स्याहार केन्द्रमा बसेर लेखेका यी अनुभूतिहरु हुन् ।

हामी तथाकथित बुद्धिजीवी पनि हौँ । स्वतन्त्रताका पक्षधर भइरहँदा अभिव्यक्तिको स्वतन्त्रता जगेर्ना गर्नै पर्‍यो । व्यक्तिगत रुपमा हामी कसैका सन्निकट हौँला या नहौँला, सामाजिक परिघटनाका वास्तविक कथा लेख्न छाड्नु हुन्न भन्ने मान्यता छ । भनिन्छः कोरोनाले धेरै कुरा सिकायो, स्वास्थ्य सचेतना, खानपान, वातावरण संरक्षण, पारिवारिक सामिप्यता बढाउने लगायत आफ्नो जीवनशैली परिवर्तन गर्न सिकाएको भनियो । हामीले व्यवहारमा त्यसो गरेका छौँ कि छैनौँ ? त्यो मुख्य कुरा हो । यो पंक्ति लेखुञ्जेलसम्म गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बढ्दो छ । यसै अवसरमा हालै मात्र हामीले बृद्धाश्रममा रहने आमाबुवालाई थप सचेतना जगाउने कार्यक्रम गरेका छौँ ।

हातलाई साबुन पानीले मिचिमिची धुने, पाएसम्म स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, कम्तीमा एक मिटरको दुरी कायम गर्ने भनेर हामीले सिकाउँदै छौँ । स्वास्थ्य सुरक्षाका लागि प्रयोग गर्न भनिएको मास्क लगाउनु पर्दा कतिपय आमाबुवालाई मुख बन्द गर्न लगायो भनेर रिस उठेको भेटियो । अलि फरक फरक बस्नु होला भन्दा बढी नियन्त्रण गर्न खोज्यो भन्नु भएको सुनियो । खानापान अलि सुपाच्य मात्रै खाने गरौँ भन्दा पहिलेको जस्तो खान दिएन भनेर ठान्नु भयो । कुरा थियो यतिबेला बिरामी भयो भने अस्पतालले भर्ना लिन गाह्रो मान्छ भनेर उहाँहरुलाई बुझाउन मुस्किल परेको छ । कोरोनाको कारणले एम्बुलेन्स चलाउन ड्राइभर डराए भनेर उहाँहरु बुझ्नु हुन्न । ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्दाका कठिनाइँ थिए यिनै अनुभूतिहरु ।

हामीले लिएर आएको संस्कार अनि संस्कृति एक दिनको उपज थिएन । पुस्तौँदेखि चल्दै आएको रितीरिवाज र संस्कृति एकै दिनमा मेटिने पनि त होइन । खराब संस्कार, संस्कृति र प्रचलन हामीले मेटाएर नयाँ संस्कृति र प्रचलन बसाउनु पर्दछ । आमा-बुवाहरुलाई त्यो परिवर्तन ल्याउन मुस्किल रहेछ । भन्ने बेलामा भन्ने गरिन्छ, केटाकेटी र बृद्धबृद्धाहरु एकै हुन् । बालबालिकाहरुको शिक्षा-दीक्षा र तालिमले जति सजिलो परिवर्तन आउँछ, बृद्ध हुँदै गर्दा त्यस्तो परिवर्तन हुनसक्ने कुरा भएन । जबसम्म जागरुक र सक्रिय ज्येष्ठ नागरिक आफै ज्ञान विज्ञानका केही कुरा सिक्ने, विज्ञान र प्रविधिमैत्री बन्न खोज्ने गरिदैँन, तबसम्म घर परिवार र समाजमा उनीहरु केही बोझ बनेका हुन्छन् कि भन्ने प्रमाणित हुँदो छ ।

हामीले बुढ्यौली व्यवस्थापनका कुरा गरिरहँदा हाम्रो सामाजिक व्यवस्थामा परिवर्तन ल्याउन जरुरी ठान्यौँ । राज्यका नीति र कार्यक्रममा सुधार गर्न कोशिस गर्‍यौँ, कागजी नियम कानुनहरु बनायौँ । व्यवहारमा हाम्रो सामाजिक व्यवस्था उस्तै छ, राज्य प्रणालीलाई सुधार गर्नेहरुको चिन्तन र व्यवहार उस्तै छ । जुन ठाउँबाट हामीले परिवर्तनको मुद्दा उठायौँ, अहिले व्यवहारतः उहीँ छौँ भन्दा हामीलाई कत्ति आत्मग्लानी छैन । राजनीतिमा ठुलाठुला गुड्डी हाँक्न सजिलो छ व्यवहारिक परिवर्तन उत्तिकै गाह्रो छ । हाम्रो सोचाइ निकै आदर्शवादी होला तर व्यवहार उही राणातन्त्रको पालामा जस्तो छ ।

हामीले राज्य प्रणालीमा ठुलै अग्रगामी फड्को मार्‍यौँ भन्दैछौँ, काम पश्चगामीको भन्दा नालायक गर्न मन पराउँछौँ । सामाजिक उत्तरदायित्व व्यक्तिको भन्दा सामाजिक अगुवाको र त्यो भन्दा बढी राज्यको हुनुपर्ने हो । लाज नमानी भन्नुपर्छ, त्यसो भइरहेको छैन । यो जानिफकार असहाय बेवारिसेहरुको कोरोना र लकडाउन अनुभूति हो । कृपया कसैलाई मर्का पर्न गएछ भने क्षमा गरिदिनु होला ।

(लेखक प्रेस स्वतन्त्रता सेनानी एवम् राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य हुनु हुन्छ ।)