एब्रु तिम्तिक, ebru timtik, human right activist
 

काठमाडौँ । न्यायप्रेमी टर्किश जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आउनुभएका टर्कीका वामपन्थी अधिवक्ता तथा मानवअधिकारकर्मी एब्रु तिम्तिकको आमरण अनशनको क्रममा निधन भएको छ । उहाँको निधनले संसारभरका श्रमजीवी तथा न्यायप्रेमी जनसमुदायलाई क्रुद्ध बनाएको छ ।

टर्कीका बन्दीहरूलाई मानवोचित व्यवहार, निष्पक्ष न्याय र न्यायपूर्ण कानुनी अधिकारको माग राख्दै बन्दी अवस्थामै जेलभित्रैबाट अथक संघर्ष गर्दै आउनुभएका चर्चित मानवअधिकारकर्मी तथा जनअधिवक्ता एब्रु तिम्तिकको आमरण अनशनको २३८ औँ दिनमा अगस्ट २७ मा दुःखद निधन भएको हो ।

एब्रु तिम्तिक आमरण अनशनको क्रममा निधन हुने टर्कीको चौथो संघर्षशील योद्धा तथा नागरिक अभियन्ता हुनुहुन्छ । चर्चित गायिका हेलेन बोलेक (हेलिन बोलेक), इब्राहिम गोचेक र मुस्तफा कोचाकको भोक हड्तालका क्रममा यसअघि नै निधन भइसकेको छ । एब्रु तिम्तिकसँगै २०९ दिनदेखि भोक हड्तालमा रहनुभएका उहाँका सहकर्मी ऐताक उन्सालको अवस्था पनि गम्भीर रहेको छ ।

पिपुल्स ल ब्युरो (जनताको कानुन ब्युरो) को नामले चिनिने प्रगतिशील अधिवक्ता संघ (प्रोग्रेसिभ लयर्स एसोसियसन) सँग आबद्ध रहेका उहाँसहित १८ जना अधिवक्ता तथा न्यायकर्मीहरूलाई पुँजीवादी टर्किश सरकारले सन् २०१७ को सेप्टेम्बरमा आतंककारीको आरोपमा गिरफ्तार गरेको थियो ।

पिपुल्स ल ब्युरोले सरकारको विरूद्ध आवाज उठाउनेहरूको प्रतिनिधित्व गर्दै निःशुल्क मुद्दा लड्ने गरेको थियो । एब्रु तिम्तिक कन्टेम्पोररी लयर्स एसोसियसनको पनि सदस्य हुनुहुन्थ्यो, जसलाई प्रतिबन्धित क्रान्तिकारी जनमुक्ति पार्टी/मोर्चा (रिभोलुसनरी पिपुल्स लिवरेसन पार्टी/फ्रन्ट) सँग आबद्ध रहेको आरोप लगाइँदै आएको छ ।

एब्रु तिम्तिक, अन्त्येष्टी, ebru timtik, funeral, coffin
एब्रु तिम्तिकको अन्त्येष्टीमा उपस्थित जनसमुदाय

सन् २०१९ को मार्चमा उहाँ लगायतका अधिवक्ता तथा मानवअधिकारकर्मीहरूलाई विभिन्न सँजाय सुनाइएको थियो । एकतर्फी फैसला मार्फत उहाँलाई आतंककारी समूह संगठित गरी त्यसमा आबद्ध रहेको र विष्फोटका गतिविधिमा संलग्न भएको निराधार आरोपसहित बहु-कसुरवार करार गर्दै १३ वर्ष ६ महिनाको कैद सँजाय सुनाइएको थियो ।

टर्कीमा गिरफ्तार गरिएका बन्दीहरूलाई विधिसम्मत कानुनी उपचारको अवसर, निष्पक्ष न्याय र मानवअधिकारको रक्षाको माग गर्दै एब्रु तिम्तिकले २०२० जनवरी २ देखि जेलभित्रै भोक हड्ताल सुरु गर्नुभएको थियो । फेब्रुअरी २ बाट उहाँलाई भोक हड्तालमा सहयोद्धा ऐताक उन्सालले पनि साथ दिनुभएको थियो । अप्रिल ५ तारिखमा टर्कीको ‘अधिवक्ता दिवस’को दिनबाट उहाँहरू दुवै जनाले आफ्नो भोक हड्ताललाई आमरण अनशनमा परिणत गर्नुभएको थियो ।

लामो भोक हड्तालको कारण गम्भीर बिरामी भएपछि उहाँ र ऐताक उन्साललाई गत जुलाई ३० मा सिल्भिरी जेलबाट सारेर इस्तानबुलको छुट्टै अस्पतालमा भर्ना गरिएको थियो । उहाँको न्यायोचित मागलाई स्वीकार गर्न र जीवन रक्षा गर्न विश्वव्यापी रूपमा आवाज उठाइएको थियो । तर फासीवादी टर्किश सरकारले यस्ता अपीलहरूको धज्जी उडाउँदै कुनै सुनुवाई गरेन । बरू एब्रु तिम्तिकलाई बलजफ्ती आमरण अनशन तोडाउने कोशिस गरिरह्यो, जसलाई उहाँले पूर्णतः अस्वीकार र निरन्तर प्रतिरोध गरिरहनुभयो ।

अस्पतालमा उहाँलाई बलजफ्ती अनशन तोडाउन मानसिक रूपमा धेरै यातना दिइयो । उहाँकी काकाकी छोरीले बताएअनुसार अस्पतालको अवस्था जेलको भन्दा पनि कठोर रहेको थियो, जहाँ उहाँलाई गलाउन उहाँको कोठालाई अँध्यारो बनाउने, चर्को बत्ती बाल्ने र बन्द कोठामा चिसो हावा पठाउने गरिएको थियो । लामो अवधिको आमरण अनशन, मानसिक यातना, चिसो, अँध्यारो वातावरण र बलजफ्ती अनशन तोडाउन गरिएको बल प्रयोगका कारणले उहाँको मृत्यु भएको बताइएको छ ।

गिरफ्तारीको समयमा स्वस्थ र हृष्टपुष्ट रहनु भएकी हँसिलो स्वभावकी एब्रु तिम्तिकको मृत्युको समयमा शारीरिक तौल घटेर केवल ३० किलोग्राम पुगेको थियो । उहाँको पार्थिव शरीरलाई विशाल जनप्रदर्शनसहित अन्त्येष्टी गरिएको थियो । अन्त्येष्टीको क्रममा प्रहरीले अश्रु ग्याँस छोडेर दमन गरेको थियो । सरकारी दमनको बाबजुद पनि उहाँको अन्त्यष्टीमा मास्क लगाएर विशाल जनसमुदाय उपस्थित भएको थियो भने अश्रुधारासहित अन्तिम श्रद्धाञ्जली दिनेहरूको विशाल भीड थियो । अन्तेष्टीपूर्व विदाइ गीत गाइनुका साथै “एब्रु तिम्तिक – अमर रहुन्”, “हामी तिमीलाई सम्झिरहनेछौँ” सहित विभिन्न नाराहरू समेत लगाइएको थियो । सुरूमा प्रहरीले उहाँको शव अपहरण गर्ने प्रयत्न गरेको थियो । जनताको प्रतिरोधको कारण प्रहरी सफल हुन सकेन ।

सन् १९७८ मा जन्मिनु भएकी एब्रु तिम्तिकको ४२ वर्षको उमेरमा शहादत भएको हो । उहाँको संस्थागत हत्याको विरूद्ध विश्वभरका न्यायप्रेमी जनसमुदाय, मानवअधिकारकर्मीहरू, कानुनकर्मीहरू, सामाजिक अभियन्ताहरू र क्रान्तिकारी तथा साम्राज्यवादविरोधी शक्तिहरूले कठोर शव्दमा आलोचना गरेका छन् ।

सन् २०१६ मा सरकारविरोधी ‘कू’को असफल प्रयत्न भएपछि चौतर्फी दमनमा उत्रिएको टर्कीको पुँजीवादी-फासीवादी सरकारले हजारौँको संख्यामा निर्दोष नागरिकहरूलाई गिरफ्तार गर्ने र कठोर यातना दिने गरेको छ । टर्कीमा वैधानिक र अवैधानिक संघर्षमा भाग लिने ठूलो वामपन्थी जनमत रहेको छ ।

लेफ्ट रिभ्यु अनलाइन टर्किश जनताका महान सपुत, विश्व न्यायपूर्ण आन्दोलनका योद्धा तथा जनअधिवक्ता क. एब्रु तिम्तिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।