लियोनार्दो दा भिन्ची, leonardo da vinci
 

लियोनार्दो दा भिन्ची विशाल मस्तिष्क र बहुमुखी प्रतिभाका धनी एक अनौठा मानिस थिए । उनी चित्रकार, संगीतकार, मूर्तिकार, इन्जिनियर, वैज्ञानिक र भवन निर्माता आदि सबै उनका परिचय थिए । त्यसैले उनलाई बहुमुखी प्रतिभाका धनी विश्व पुरुष भन्दा पनि अत्युक्ति नहोला जस्तो लाग्छ । यहाँ तिनै महान् व्यक्तित्व लियोनार्दो दा भिन्चीको बारेमा संक्षिप्त चर्चा गर्ने कोशिस गरिएको छ ।

लियोनार्दो दा भिन्चीको जन्म सन् १५ अप्रिल १४५२ मा इटालीको भिन्ची भन्ने गाउँमा भएको थियो । उनका पिता सर पिएरो एन्टोनियो दा भिना थिए भने माता क्याटरिना थिइन । लियोनार्दो दा भिन्ची बाल्यकालमा एक प्रकृतिप्रेमी थिए । त्यसो त उनी जीवनभर प्रकृतिका पुजारी रहिरहे । उनी डाँडाकाँडा, पहाड-पर्वत, बन-जंगलतिर डुलिरहन्थे । प्रकृतिको काखमा बसेर खोला-नाला, चराचुरुङ्गी र आकाशमा बादल घण्टौँसम्म हेरिबस्थे । त्यसैले उनले प्रकृतिबाट उनले धेरै कुरा सिके ।

शिशिर श्रेष्ठ, Shishir Shrestha, Milan Afanta
लेखक

उनी पढाइमा त्यति अब्बल थिएनन् । उनको आफ्नो प्रारम्भिक शिक्षा गाउँमै भयो । उनी अध्ययनभन्दा प्रकृतिमा रमाउँथे । आफ्नो यौवनकालमा उनी हट्टाकट्टा थिए । चिटिक्क परेको जिउ, धपक्क बलेको अनुहार, मिलनसार स्वभाव । उनी यती आकर्षक व्यक्तिव्यका धनी थिएकी जुनसुकै युवती पनि उनीप्रति आकर्षित हुन्थे । तर उनी युवतीप्रति आकर्षित हुनुभन्दा पनि आफ्नो कला र प्रतिभामा लीन हुन्थे। भिन्ची चित्रकलामा यति डुब्थे कि उनले विवाह गर्ने फुर्सद पनि पाएनन् र आजीवन अविवाहित रहे ।

लियोनार्दो विश्वप्रसिद्ध चित्रकार थिए । लियानार्दोको विश्वप्रसिद्ध चित्र होः मोनालिसा । मोनालिसाको मुस्कान मनमोहक थियो । चार सय वर्षदेखि कवि र लेखकहरुले मोनालिसाको वर्णन गर्दै आएका छन् । मोनालिसाको विषयमा अनन्त चर्चा चलिरहेको छ । भनिन्छ यो चित्र हेर्न जाँदा मनमा जस्तो भाव लिएर गएको छ, उस्तै भाव मोनालिसाको अनुहारमा पाइन्छ । मोनालिसाको चित्र अमेरिकामा प्रदर्शन गर्न ठूलो धनराशी खर्च गरी एउटा विशेष पानी जहाजमा राखेर लगियो । अमेरिका पुगेपछि यस चित्रको उद्घाटन गर्न स्वयं राष्ट्रपति केनेडी उपस्थित थिए । लाखौँ मानिसले यो अमर चित्र हेरे । वासिङ्टन र न्युर्योकमा प्रदर्शनी भएकोबेला देशको कुना-कुनाबाट अमेरिकी कलाप्रेमीहरु आएका थिए ।

लियोनार्दे दा भिन्ची, मोनालिसा, monalisa, leonardo da vinci
लियोनार्दे दा भिन्चीको सृजनाः मोनालिसा

लियोनार्दो दा भिन्चीको अर्को महान् कलाकृति होः अन्तिम रात्रिभोज । मिलान भन्ने नगरको सान्ता मारिया देल्ले ग्राजी भन्ने गिर्जाघरको भित्तामा उनले यो चित्र बनाएका थिए । अन्तिम रात्रिभोजमा जिसस क्राइस्टले आफ्ना बाह्र चेलाहरुसँग बसेर अन्तिम भोजन गरिरहेका देखआइएको छ । त्यहाँ भएका बाह्र चेलाहरुको रुपरंग गजबको छ भनिन्छ । त्यसो त मोनालिसा जस्तै ‘अन्तिम रात्रिभोज’ पनि विश्वको प्रसिद्ध ऐतिहासिक कृति बन्न पुग्यो । त्यसलाई देखेर फ्रान्सका राजा समेत मन्त्रमुग्ध भएका थिए र जति खर्च र परिश्रम लागे पनि भित्तै काटेर त्यो चित्र पेरिस लान खाजेको थिए । यस बाहेक पनि उनले भर्जीन अफ द सकसबाट, लेडा र हाँस, बेन्सी मेडोना जस्ता चर्चित चित्र तयार पारे ।

उनी के मात्र थिएनन् ? उनी जति चित्रकार थिए, त्यति नै मुर्तिकार, संगीतकार र वैज्ञानिक पनि थिए । एक मानवतावादी र सरल जीवन बिताउने तर बहुमुखी प्रतिभाका धनी थिए । उनले थुप्रै वायुयान, प्यारासुट र छापाखानाको परिकल्पना गरे । ओडोमिटर र म्याजिक लाल्टिन, रिन्च मेशिन गन आदिको आविष्कार गरे ।
उनी एक सफल संगीतकार पनि थिए । सन् १४८३ मा एउटा चाँदीको बाँसुरी बनाए, जसबाट एकदमै मीठो ध्वनि निस्कन्थ्यो । घोडाको टाउको आकारको त्यो बाँसुरीको धुनबाट इटालीका तत्कालीन राजा ड्युकका अगाडि भएको संगीत सम्मेलनमा सम्पूर्ण संगीतकर्मीलाई जिते र उनी नै प्रथम हुन सफल भए ।

उनी वैज्ञानिक पनि थिए । मान्छे चराजस्तै उड्न सफल हुन्छ भन्ने विश्वास उनमा थियो । उनले मानव निर्मित वायुयानको कल्पना गरी विभिन्न वायुयानको निर्माण गरे । त्यस बाहेक उनको खगोलशास्त्रमा पनि गहिरो अभिरुचि थियो । उनले ग्रह र ताराहरूबारे पनि अध्ययन गरे । वास्तुकलाका ज्ञाता भिन्चीले मिलानका शासक लुडोभीको शालिक बनाए । त्यो देखेर आम मानिस समेत मानिस हो कि शालिक हो भनेर भ्रमित हुन्थे ।

यी महान् तथा बहुमुखी प्रतिभाका धनी लियोनार्दो दा भिन्चीको मृत्यु आबोइसे नजिकैको दरबार क्लाउक्समा सन् २ मे १५१९ मा भयो । लियोनार्दो आज हाम्रो सामु छैनन् तर उनले छोडेका अमर चित्रहरू, कला, कृति र आविष्कारहरू आदि हाम्रो सामु छन् । उनको अमरता मोनालिसाजस्ता तस्वीरहरूले बोलिरहेको छ ।

(लेखक प्रगतिशील युवा लेखक हुनुहुन्छ ।)