स्थानीय समय अनुसार नोभेम्बर सत्ताईस तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले म्याड्रिडको जारजुएला दरबारमा स्पेनका राजा फिलिप छैठौँसँग भेटघाट गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सीले राजा फिलिप छैठौँको निमन्त्रणामा सुन्दर स्पेनको भ्रमण गरेकोमा निकै खुशी लागेको बताउँदै सन् २००५ मा चीन र स्पेनले सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धको स्थापना गरेयता, दुई मुलुकबीच सम्बन्धको विकास स्तर निरन्तर उकासिएको, आपसी राजनैतिक विश्वास दिन प्रतिदिन सबल भएको, सहयोगका क्षेत्रहरू निरन्तर विस्तृत पारिएको र जनस्तरीय आवतजावत पनि अझै घनिष्ठ भएको औंल्याउनुभयो ।
यस पटकको भ्रमणमार्फत दुई मुलुकको मित्रतालाई सुदृढ पार्ने, सहयोग स्तरलाई उकास्ने, चीन-स्पेन सम्बन्ध स्थिर र दीर्घकालीन रुपमा विकास गर्ने आशा पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ ।
राजा फिलिप छैठौँले राष्ट्राध्यक्ष सीले स्पेनको राजकीय भ्रमणका लागि हार्दिक स्वागत गर्नुका साथै स्पेनले चीनसँगको मैत्रीपूर्ण आदानप्रदान र सहयोगमा उच्च महत्त्व दिंदै आएको बताउँदै चीनसँग घनिष्ट आदानप्रदानलाई कायम राख्दै जाने, व्यावहारिक सहयोगलाई उकास्ने र युरोप-चीन सम्बन्धलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
२८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ ली युआनले स्पेनकी रानी लेटिजिया ओर्टिज रोकासोलानोको साथ म्याड्रिडको केन्द्रमा रहेको स्पेन रोयल थिएटरको अवलोकन गर्नुभएको छ।
(स्रोतः चिनियाँ अन्तर्राष्ट्रिय रेडियो)