कमरेडहरू,
आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको यही क्रान्ति नै ‘अक्टुबर क्रान्ति’ थियो । हिउँ, हुरी, अनिकाल, युद्ध र काल मडारिइरहेको निकै अप्ठ्यारो परिस्थितिमा सम्पन्न भएको उक्त क्रान्तिको अगुवाइ लेनिन र त्यहाँको वोल्सेभिक कम्युनिस्ट पार्टीले गरेको भए पनि त्यस क्रान्तिमा रुसमा क्रियाशील सोभियतहरू, सोभियतमा आवद्ध एवम् आमकिसान र मजदुर तथा रुसी सैनिकहरूको समेत सक्रिय सहभागिता थियो ।
कम्युनिस्टलगायतका क्रान्तिकारीहरूले सन् १८७१ मा विद्रोहमार्फत् केही समयका लागि फ्रान्सको पेरिस सहरमा कम्युन बनाएका भए पनि अक्टोबर क्रान्ति स्तरको कम्युनिस्ट क्रान्ति संसारमा कतै भएको थिएन । यही क्रान्तिले नै संसारमा पहिलो पटक सामन्ती, पुँजीवादी भन्दा विल्कुलै भिन्न सर्वहारा वर्गको राज्यसत्ता पनि स्थापना गरेको थियो । त्यो क्रान्तिमा संसारका लागि रोटी, शान्ति र जमिन, जनताका लागि रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिस्टका लागि क्रान्तिको नारा बुलन्द गरेको थियो । त्यसैको फलस्वरूप रुसी जनता ‘युद्ध होइन, क्रान्ति, जनताविरुद्ध होइन, शोषणविरुद्ध हतियार’ भन्दै कम्युनिस्ट क्रान्तिलाई युगान्तकारी विजयको रूपमा हेर्न लालायित भएका थिए । उक्त क्रान्तिले जारशाहीलाई बेदखल गर्दै फेब्रुअरी क्रान्तिबाट बनेको केरेन्स्कीको सरकारलाई खारेज गरी मजदुर, किसान र सिपाहीहरूको सर्वोच्च सोभियत सरकार गठन गरेको थियो ।
सर्वहारा वर्गको यो अधिनायकतन्त्रले आफ्नो पहिलो कामको रूपमा जग्गा जोत्नेको तथा महिला तथा तेस्रो लिङ्गीहरूमाथिका सामन्ती पुँजीवादी हेपाइ–मिचाइ र रजाइँविरुद्ध कानुन जारी गरेको थियो । रुसी सामन्ती जारशाही उत्पीडनमा आधारित राज्यसत्तालाई चकनाचुर पार्ने उक्त क्रान्ति सिंगो मानवजातिकै इतिहासमा समेत अभूतपूर्व र मानवजातिलाई समग्र रूपमा असर पार्ने युगान्तकारी क्रान्ति थियो । यसले मानव जीवनका राजनीति, आर्थिक वातावरण, सामाजिक परिस्थिति, पर्यावरण, सांस्कृतिक धरातल तथा सामरिक परिदृश्यमा विल्कुलै नयाँ आयाम थप्यो । अदम्य क्रान्तिकारी साहस, दूरदृष्टि, जुझारूपना र शौर्य प्रदर्शन गरी रुसका महान् जनताले कम्युनिस्टहरूको नेतृत्वमा सम्पन्न गरेको उक्त क्रान्ति, पहिलो विश्वयुद्धमा पराजित तथा छिमेकी मुलुकहरूसँगको युद्धले जर्जर भएको रुसमा, साम्राज्यवादी शक्ति, सेना र नाकाबन्दीका बीच उनीहरूकै दलाल सरकारविरुद्ध सम्पन्न गरेका थिए । हुनत यो क्रान्ति रुसी भूमिमा भएको थियो तर यसले सिङ्गो दुनियाँलाई यसरी प्रभावित गर्यो कि आज हामी जे छौँ, हामी जति छौँ र जस्ता छौँ, हामी पनि त्यही अक्टोबर क्रान्तिका उपज हौँ भन्न सकिन्छ ।
हुनत धेरै पहिलेदेखि नै वर्गीय समाजको विरुद्ध शोषित, शासित र उत्पीडितहरूले साना–ठूला विभिन्न प्रकारका संघर्ष र विद्रोह गर्दै आएका थिए । यही शृंखलाको चरमोत्कर्ष पेरिस कम्युन र अक्टोवर क्रान्ति थियो । अक्टोबर क्रान्तिमा विश्वका सर्वहारा वर्ग, उत्पीडित जातजाति तथा राष्ट्रहरूको समर्थन, सहभागिता र सहयोग रहेको थियो । त्यसैले भन्न सकिन्छ कि अक्टोबर क्रान्ति रुसी क्रान्ति मात्र थिएन बरु यो त विश्वक्रान्ति थियो । यो त सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद, बजारतन्त्र र विस्तारवादी हस्तक्षेपका विरुद्ध संघर्षको शंखनाद गर्दै सबै प्रकारको शासन, शोषण, उत्पीडन, अन्याय, अत्याचार, असमानताको विरुद्ध वर्गीय दुनियाँबाट वर्गविहीन दुनियाँमा प्रवेश गर्ने जमर्को थियो । मानवजातिको इतिहासमा यही अक्टोबर क्रान्तिले पहिलो पटक गर्भदेखि चितासम्मका भोक, रोग र शोकहरूबाट मुक्ति दिलाएको थियो । रुसी जनताको स्वच्छ हावा, शुद्ध जल, विषादीरहित पौष्टिक आहार, हावापानी सुहाउँदो आवास, सुन्दर प्रकृति, निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य जस्ता न्यूनतम आधारभूत आवश्यकता पूरा गरेको थियो । टेगोरको शब्दमा भन्दा ‘मानौँ ‘धर्ती नै स्वर्ग’ बनेको थियो ।
अन्तरिक्षको यो सानो नीलविन्दु पृथ्वीका सीमित स्रोत साधनहरूले अबका दिनमा मान्छेभित्रका सामन्ती पुँजीवाद, असीमित इच्छा आकांक्षा र तृष्णाहरू पूरा हुन सक्दैनन् । यस्ता असीमित तृष्णाहरूले मानव समाजको टिक्ने प्राथमिक आधार आफ्नो प्रकृति, पर्यावरण र अन्य स्रोत साधनको तीव्र विनाश गर्दै मानव जाति नै लोप गराउने तीव्र संभावना बढाएको छ । अक्टोबर क्रान्तिको विजय र त्यसयताका विकासहरूले हामीलाई असंख्य सूचना, सेवा र सामानसहितका अनुभवहरूको भण्डार उपलब्ध भएको छ । ज्ञान, बोधी प्राप्त भएको छ । तिनै सूचना ज्ञान र अनुभवहरूमा टेक्दै वर्गीय पुँजीवादी जीवनशैली परित्याग गरी कम्युनिस्ट जीवनशैली अहिले र यहीँबाट सुरु गर्नु अक्टोवर क्रान्तिको आह्वान हो ।
अक्टोवर क्रान्ति शतवार्षिकी समिति नेपालको अपिलमा भनिएको थियो ‘आजको संसार युगान्तकारी अक्टोवर क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति (ज्ञान, सूचना, सेवा र सामान), संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानताप्रतिको संगठित विद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । अक्टोवर क्रान्तिले नै मान्छेलाई उसको प्रतिभा, गरिमा, अस्मिता र मर्यादाका लागि आजसम्म उद्वेलित गरिरहेको छ ।’ सलाम छ क्रान्तिको अग्रभागमा उभिएका ती सबै रुसी मजदुरहरू, उत्पीडित जन, कम्युनिस्ट र सर्वहाराहरूलाई, जसले सर्वहाराहरूको सत्ता संभव छ, धर्तीलाई अझ धेरै सुन्दर बनाउन संभव छ भनेर हामीलाई शिक्षा दिनुभयो । हाम्रो हृदयमा सँधैभरि तपाईंहरू दियो बनेर बलिरहनुभएको छ । संसारलाई नयाँ बाटो देखाउने अक्टोबर क्रान्ति सय वर्ष पुगेको अवसरमा त्यसप्रति सम्मान गर्दै हामी नेपालका सचेत कम्युनिस्टहरू पनि अक्टोबर क्रान्ति शताब्दी उत्सव मनाइरहेका छौँ र अक्टोबर क्रान्तिप्रति ऐक्यवद्धता र सम्मान प्रकट गरिरहेका छौँ ।
अक्टोवर क्रान्तिलाई स्मरण गर्दै र त्यसवाट शिक्षा लिंदै यतिखेर हामी भनिरहेका छौं — हामी हारेका हौँला तर हरेश खाएका छैनौँ । हामी जिउँदै र होसमै छौँ । एक मुठ्ठी रगत भएसम्म र यो प्राण रहेसम्म हामीले यो वर्गीय दुनियाँ मास्ने प्रयत्न गरी नै रहने छौं । हामी भनिरहेका छौँ, कम्युनिस्ट क्रान्ति जिन्दावाद । कम्युनका प्रस्थापनाहरू अटल छन् । माक्र्सको भनाइ स्वीकार गर्दै राष्ट्र, देशको सिमाना नभएको कम्युनहरूको दुनियाँ, जहाँ शोषण, शासन, उत्पीडन, अन्याय, अत्याचार, असमानताको अन्त्य भएको हुनेछ त्यसको निर्माणार्थ हामी प्रयत्न गरिरहने छौं । हामीले ठानेका छौं, त्यस्तो समाज जहाँ सबैको आधारभूत आवश्यकताको परिपूर्तिको ग्यारेन्टी हुन्छ, स्रोत, साधन, नीति निर्माण र कार्यान्वयनमा सरोकारवालाले नै आफ्नो फैसला गर्न पाउँछन, जहाँ जीवनका आधारभूत आवश्यकताबारे सबैले ढुक्क हुन सक्छन त्यस्तो स्वचालित समाज निर्माणका लागि अघि बढ्नु नै अक्टोबर क्रान्तिको शिक्षा र आजको हाम्रो मुल दायीत्व हो ।
कथित दलित, महिला, मजदुर, किसान, जनजातिहरुका अधिकारको प्राप्ति, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ताको रक्षाका लागि नेपाली जनताले गरेका जनआन्दोलनहरु र जनयुद्धले सयौँ वर्षदेखि हामीमाथि राज गरिरहेको सामन्ती राजतन्त्रको अन्त्य भएको छ । संविधानसभा मार्फत नयाँ संविधान निर्माण गर्दै हामीहरुले देशलाई घर्मनिरपेक्ष र संघीय शासन प्रणालीमा लगेका छौं । हो, आज हामी त्यही गणतान्त्रिक नेपालमा हँसिया–हथौडा अंकित झन्डा बोकेर कम्युनिस्टको नाउँमा सडकदेखि सरकारसम्म उपस्थित छौँ । तर, के हामी साँच्चिनै अक्टोबर क्रान्तिले देखाएको बाटोमा छौँ ? के यो गंभीर बहस र समीक्षाको विषय बन्न सक्छ ? के यसबारे गंभीर भएर सोच्न र हामी सबैले आफूलाई सच्याउने हिम्मत गर्न सकिन्छ होला ? हामीलाई लाग्छ, हामी सबैले एकपल्ट इमान्दार भएर सोचौँ र अक्टोबर क्रान्तिले देखाएको बाटोलाई अनुसरण गरौँ ।
अन्तमा, लाल सलाम अग्रज कम्युनिस्ट योद्धाहरू, जो अहिले यहाँ सम्मानित हुँदै हुनुहुन्छ । हामी उहाँहरूलाई व्यक्तिगत, सामूहिक, सार्भिक रूपमा हामी सबैको तर्फबाट सुस्वास्थ्य, दीर्घायुको कामनासहित कृतज्ञता तथा अभिवादन गर्दै धन्यवाद ज्ञापन गर्दछौँ । अग्रजहरू, अगुवा योद्धाहरूलाई उदात्त लालसलाम । अक्टोबर क्रान्तिका उच्चतम उपलब्धिलाई समयअनुकूल आत्मसात गर्दै मानवमुक्तिमा लाग्नुहुने सबैसबैमा धन्यवाद ।
कमरेडहरू, जो यो कार्यक्रममा उपस्थित तथा सहभागी हुनुभयो, संस्कृतिकर्मीहरू (कवि, कलाकारहरू), जसले यहाँ आफ्ना कला सिर्जनाहरू प्रस्तुत गर्नुभयो, कमरेडहरू, जसले तन, मन, धन र बुद्धि, विवेक, हृदयले तथा मन, वचन र कर्मले स्वयंसेवकको रूपमा यहाँ सहभागिता जनाउनुभयो, कमरेडहरू, जसले आर्थिक सहयोग गर्नुभयो, कमरेडहरू, जसले लोगो, ब्यानर डिजाइन आदिमा सहयोग गर्नुभयो, ती सबैसबैमा लालसलाम ।
फेरि पनि,
महान् शहीदहरू – लालसलाम ।
अग्रज कमरेडहरू — लालसलाम ।
इन्कलाब – जिन्दावाद ।
अक्टोबर क्रान्ति – जिन्दावाद !!!
२०७५ मंसिर १५ गते