Rosa Luxemburg Red Rosa , RedRoza
 

रोजा लक्जम्बर्ग

रेड रोजा भनेर चिनिने रोजा लक्जम्बर्ग, मार्क्सवादी दार्शनिक, महिलावादी तथा अर्थशास्त्री हुन् । मार्क्सवादी दर्शनमा आधारित लोकतन्त्र, शान्ति र क्रान्तिकारिताको संयोजनबारे उनको विशिष्ट विचारधारा छ ।

रोजा लक्जम्बर्गको मार्क्सवादी र समाजवादी आन्दोलनका साथै महिलावादी आन्दोलनमा पनि विश्वभर चर्चा परिचर्चा भइरहन्छ । लक्जम्बर्ग मार्च महिनामा विश्व श्रमिक महिला दिवस मनाइँदा वा उनको जन्मोत्सव मनाइँदा नेपालमा भने रोजाको त्यति चर्चा भएन । तर उनको जन्मोत्सव तथा विश्व श्रमिक महिला दिवसको अवसरमा मार्च महिना विश्वभर विविध कार्यक्रम गरी क्लारा जेट्किनको साथै रोजा लक्जम्बर्गको संघर्ष र उनका योगदानहरुको समेत बहस र गुणगान गरियो । युवाहरुमाझ लोकप्रिय ४७ वर्षको उमेरमा १५ जनवरी, १९१९ मा जर्मनीको बर्लिन शहरमा हत्या गरिएकी रोजाको मार्च ५, १८७१ मा पोल्याण्डको जमोस्कमा एक यहुदी परिवारमा जन्म भएको थियो ।

कतिपयले मार्क्सवादकै चर्चा गर्दा होस् या महिलावादी आन्दोलनको चर्चा गर्दा होस्, रोजालाई विवादमा समेत ल्याउने गर्दछन् तर उनी निसंदेह मार्क्सवादी तथा श्रमिक महिला आन्दोलनकी एक अग्रणी नेता तथा क्रान्तिकारी व्यक्तित्त्व हुन् ।

क्रान्तिकारिताका कारण देश छोड्नुपर्ने बाध्यता

मार्च ५, १८७१ मा जन्मिएकी रोजाले सानै उमेरदेखि राजनीतिमा प्रवेश गरिन् । अध्ययनमा रुची राख्ने उनी स्नातकमा स्वर्ण जित्न सफल भएपनि क्रान्तिकारी भएका कारण पदक लिन अस्वीकार गरेकी थिइन् ।

Pramesh Pokharel प्रमेश पोखरेल
लेखक

पछि उनले १८९७ मा स्वीजरल्याण्ड पुगेपछि पोल्याण्डको औद्योगिक क्रान्ति विषयमा सोध गर्दै कानूनमा विद्यावारिधी समेत प्राप्त गरेकी थिइन् । २८ बर्षको उमेरमा जर्मनीको अङ्गीकृत नागरिकता पाएकी रोजा १६ वर्षको उमेरमा हाई स्कूलमा पढ्दादेखि नै क्रान्तिकारी समूहमा सक्रिय थिइन् ।

उनले स्वीजरल्याण्ड छाड्नुअघि नै वामपन्थी मजदुर पार्टीबाट राजनीति प्रवेश गरिन् । शुरुमा उनी वामपन्थी प्रत्रिकामा सङ्लग्न भइन् । त्यसै समय लियो जोगिच लगायतका साथीहरुसँग मिलेर उनीहरुले पोल्याण्ड र लिथुनियाको समाजवादी प्रजातान्त्रिक पार्टी स्थापना गरे । त्यो पार्टी जारशाही शासनबाट मुक्ति चाहन्थ्यो । यसैकारण उनी प्रहरीको गिरफ्तारीबाट बच्न देश छाडेर एक पादरीको सहयोगमा स्वीजरल्यान्ड फरार भइन् ।

राष्ट्रियताबारे रोजा

रोजाले मार्क्सवादको अध्ययन र सैद्धान्तिक बहसमा जुट्न थालिन् । २३ बर्षको उमेरमा केही समाजवादीहरुसँग मिलेर स्थापना गरेको पोल्याण्डको सामाजिक जनवादी पार्टीमै राष्ट्रियताको सवालमा मतभेद रहेकोले उनी पार्टीबाट अलग भइन् ।

उनको विचारमा राष्ट्रियताको आन्दोलनले अन्ततः पुँजीवादीहरुलाई नै फाइदा पुर्‍याउने गर्दछ । उनको राष्ट्रियताबारेको दृष्टिकोण सम्बन्धी पुस्तक विश्वप्रसिद्ध छ ।

पढाई सकिसकेपछि उनी जर्मनी फर्किन् । स्वीजरल्याण्डमा सन् १८९८ मा जतिबेला जर्मन क्रान्तिकारीहरुको जमघटको स्थान थियो । उनले जर्मनीमा जर्मन समाजवादी प्रजातान्त्रिक पार्टीमा मार्क्सवादी अर्थशास्त्र पढाउन थालिन् तथा पत्रिकामा समेत सङ्लग्न भइन् । उनलाई सन् १९०५ मा गिरफ्तार गरियो । तर उनले जेलमा रहँदा पनि निरन्तर लेख रचना प्रकाशन गरिन् ।

फरक विचारका कारण विवादमा ल्याउने प्रयास

रोजा लक्जम्बर्गले जर्मनमा लेनिन र ट्राटस्कीसँग भेट भएकी थिइन् । उनीहरु बीच समय-समयमा संवाद हुने गर्दथ्यो । ट्राटस्कीका अनुसार रोजा र ट्राटस्की बीच स्थायी क्रान्तिको बारेमा एकमत थियो ।

रोजाको महान् क्रान्तिकारी भ्लादिमिर लेनिनसँग भेट भएको थियो । उनले सोभियत क्रान्तिबारे केही फरक टिप्पणी राखिन्, जसका कारण उनलाई अझै पनि विवादित मानिन्छ । उनको फरक विचार क्रान्तिलाई कसरी संगठित र वैचारिक रुपमा अघि बढाउनुपर्छ र मजबुत बनाउन सकिन्छ भन्नेबारे थियो । मुख्य तीन सवालमा उनको फरक विचार रहेको थियो ।

पहिलो सन् १९०४ मा उनले लेनिनको क्रान्तिकारी संघर्षमा मात्र होइन जर्मन कम्युनिष्ट आन्दोलनमै प्रमुख सवालको रुपमा विकास भएको लेनिनको सर्वाहारावर्गको अधिनायकत्त्व तथा पार्टी संगठनको जनवादी केन्द्रीयताको अवधारणाको आलोचना गरिन् ।

उनको सोभियत क्रान्तिसँगको अर्को मतभेद भनेको क्रान्ति औद्योगिक समाजमा मात्र होइन अविकसित समाजमा पनि हुन सक्छ भन्ने हो, जसलाई कतिपयले उनको मार्क्सवादको समेत आलोचनाको रुपमा लिने गर्दछन् ।

र, तेस्रो उनी विश्वयुद्धमा शान्तिको पक्षमा उभिइन् न कि युद्धबाट फाइदा उठाउने । पहिलो विश्वयुद्धको समय उनी शान्ति स्थापनाका पक्षमा खुलेर लागिन् । त्यसैका लागि बन्दको आयोजना गर्दा संसद रहेका लियो जोगिच सहित उनलाई जेल सँजाय भयो जबकि जर्मन समाजवादी प्रजातान्त्रिक पार्टी युद्धको पक्षमा लाग्यो ।

रोजाले त्यतिबेला बोल्सेभिक र मेन्सेभिकमा विभाजित सोभियत कम्युनिष्ट आन्दोलनलाई मिलाउने प्रयास गरिन् । रोजालाई बोल्सेभिक र लेनिनको विरुद्ध प्रयोग गरिएको साँचो हो तर यो धेरैपछि मुख्य गरी ट्राटस्की सोभियत निकाला भएपछिको कुरा हो । पछि रोजाको विचारलाई आधार मान्दै स्टालिनमाथि ट्राटस्की र युरोपेली केही कम्युनिष्ट खनिए र तत्कालिन सोभियत क्रान्तिको आलोचना गरे र उनीहरुले पनि रोजालाई सोभियत क्रान्तिको आलोचकको रुपमा प्रस्तुत गरे । तर सत्य त के भने लेनिनले रोजालाई सँधै एक क्रान्तिकारीको रुपमा हेरेका थिए ।

लेनिनले रोजालाई ‘एक बाजजस्तै क्रान्तिकारी’ भनेका थिए । हुन त उनीहरुबीच पोल्याण्डको स्वतन्त्रता, मेन्सेभिकको बुझाइ, पुँजीको संकलनको व्याख्यामा फरक विचार रह्यो तर यो तात्कालिक र वैचारिक भिन्नता थियो । त्यसैगरी पछि रोजा कार्ल काउस्की र प्लेखानोभको समूहमा लागेर बोल्सेभिक-मेन्सेभिक एकताको कुरामा जोड दिनुलाई पनि रोजाको कमजोरी रहेको मानियो । तर कम्युनिष्ट आन्दोदनको ब्याख्या र बुझाइमा विविधता हुनु स्वभाविक हो । जब एउटै पार्टीभत्र समेत फरक विचार समूह देखिएको समयमा तात्कालिक परिस्थितिको विवेचना बिना हामीले यसलाई विवादित विषय बनाउन मिल्दैन । रोजा क्रान्तिकारी थिइन् । उनी मार्क्सवादी थिइन् ।

सुधार वा क्रान्ति

कतिपयले रोजालाई सुधारवादी भन्दछन् । तर उनी सुधारवाद र दक्षिणपन्थको सबैभन्दा ठूलो विरोधी थिइन् । यो साँचो हो की उनी युद्धको भने सधै विपक्षमा उभिइन् । प्रथम विश्वयुद्धमा जर्मन समाजवादी प्रजातान्त्रिक पार्टी युद्धको पक्षमा लाग्यो तर उनी विपक्षमा लागिन् । पहिलो विश्वयुद्धको विषयमा पक्ष-विपक्षमा जर्मन समाजवादी प्रजातान्त्रिक पार्टीमा ठूलो मतभेद सृजना भयो । त्यसैले लामो समयपछिको सक्रियता पछि बर्नस्टाइन लगायतका नेताको सुधारवादी प्रवृतिको आलोचना गर्दै तत्कालिन समयमा शक्तिशाली जर्मन बामपन्थी पार्टी छाडिन् । उनले ‘सुधार वा क्रान्ति’ भन्ने बहुपरिचित पुस्तक यसै संदर्भमा प्रकाशन गरिन् र मार्क्सवादलाई आधुनिकीकरण गर्न खोज्नेलाई दरिलो जवाफ दिइन् ।

स्पार्टाकस लिग र जर्मन कम्युनिष्ट पार्टीको स्थापना

सन् १९१४ मा उनीसहित कार्ल लिबनेख्त, लियो जोगिच, पौल लेवी, क्लारा जेट्किन समेत मिलेर स्पार्टाकस लिग गठन गरे । लिगले गैरकानूनी भनी बन्द गरिनुपूर्व निरन्तर ‘स्पार्टाकस पत्र’ भन्ने पत्रिका प्रकाशन गर्‍यो । त्यही संघ तथा क्रान्तिकारी नेताहरुको आह्वानमा ९ नोभेम्बर १९१८ मा सशस्त्र मजदुर तथा सेनाहरुले जर्मन साम्राज्यवादको केन्द्र बर्लिनमा कब्जा जमाएका थिए र कैजरको राजतन्त्र उल्टाएका थिए । तथापि दक्षिणपन्थी समाजवादी नेताहरुले प्रतिक्रियावादी शक्तिहरुलाई एकजुट बनाए र मजदुर वर्गमाथि आर्कमण गरे ।

रोजा कम्युनिष्ट पार्टीको निर्माण दायित्त्वमा जुटेकी थिइन् । स्पार्टाकस लिग र अन्य वामपन्थी धारका व्यक्तिहरु तथा जर्मनीको कम्युनिष्टहरुको एकतामा जर्मनीमा कम्युनिष्ट पार्टीको स्थापना ३० डिसेम्बर, १९१८ मा भयो जसको कार्यक्रम रोजाले तय गरेकी थिइन् ।

अमानवीय हत्या र दुःखद अवसान

रोजाको हत्याका अनेक प्रयासहरु भए । उनलाई आश्रण दिनु अपराध घोषित गरियो । १५ जनवरी, १९१९ मा कम्युनिष्ट पार्टी स्थापनाको दोस्रो हप्तामा नै उनलाई गिरफ्तार गरियो र ՙभाग्न लागेको՚ आरोपमा गोली हानी हत्या गरियो । उनको लासलाई नालीमा फालियो । जुन बेला रोजाको उमेर जम्मा ४७ बर्षको थियो । रोजाले आफ्नो हत्या हुनु २ हप्ता अगाडि मात्र आफ्ना कमरेडहरुलाई भनेकी थिइन् “आज पुँजीवादीहरुलाई एकपटकका लागि मात्र होइन, सँधैका लागि समाप्त गर्ने काममा हामी गम्भीरतापूर्वक लाग्न समर्थ छौँ । हामी यो काम गर्ने स्थानमा मात्र होइन, सर्वहारावर्गप्रति आफ्नो कर्तव्य र यो समाधानले संसारबाट मानव समाजलाई बचाउने उपायका लागि समर्थ छौँ ।”

अन्त्यमा,

रोजा मूलतः वक्ता र लेखक थिइन् । मेरी—एलिस वाटर्सको भनाइमा रोजाको पहिचान सच्चा क्रान्तिकारीको रुपमा थियो । त्यसैले त उनलाई ‘रेड रोजा’ भनिन्छ । उनको मृत्युपछि ट्राटस्कीले रोजालाई सर्वहाराको ‘जन्मजात साथी’ भएको बताएका थिए ।

रोजाको महिला आन्दोलनमा पनि महत्त्वपूर्ण योगदान छ । उनी महिलालाई पहिले वर्गीय र त्यसपछि मात्र सामुदायिक रुपमा विष्लेषण गर्नुपर्ने कुरा अघि सारिन् । महिलाको वस्तुकरण र लिङ्गभेद विरोधी संघर्षमा उनको योगदान महत्त्वपूर्ण छ । उनले सशक्त रुपमा मार्क्सवादी संगठन गरिनन् । त्यसैले पनि कतिपयले उनको महिलावादी आन्दोलनमा योगदानको अवमुल्यन गर्न खोज्दछन् । यो साँचो हो की उनी महिलावादी भन्दा पनि मार्क्सवादी बढी बनिन् । त्यसैले जब क्लारा जेट्किनहरु महिला आन्दोलनमा लागे, उनी कम्युनिष्ट आन्दोलनमै बढी सक्रिय भइन् । समग्र श्रमजीवी जनताको मुक्ति आन्दोलनको जग राख्ने रोजालाई महिला आन्दोलनको योगदानबाट अलग राख्दा निश्चय अन्याय हुन्छ ।

युद्ध विरोधी कम्युनिष्टको रुपमा चिनिने रोजा युरोपेली र दक्षिण अमेरिकी कम्युनिष्टहरुमाझ निकै लोकप्रिय छन् । जर्मन कम्युनिष्ट आन्दोलन मात्र होइन जर्मन इतिहास नै रोजाको ब्याख्याबिना अपुरो रहने मानिन्छ ।

नोभेम्बर क्रान्ति भनेर चिनिने सन् १८१८ को नोभेम्बरको समय पनि जबसम्म सम्पूर्ण जनताको समर्थन हामीलाई हुँदैन तबसम्म हामी सत्ता चाँहदैनौं भन्ने निर्णयमा रोजा र उनको पार्टीको निष्कर्षले उनको लोकतन्त्रप्रतिको दृढता देखाउँछ । रोजाको अन्तर्राष्ट्रयवाद पनि अत्यन्त बलियो थियो । उनले उग्र राष्ट्रवादको विरोध गरिन् र राष्ट्रवादले समाजवाद होइन पुँजीवादको पक्षपोषण गर्ने वकालत गरिन् । उनको मूलभूत मान्यता थियो, श्रमिकको नेतृत्त्वमा हुने क्रान्तिकारी आन्दोलनले मात्र समाजवाद ल्याउँछ । श्रमजीवीको शासन र सबैका निम्ति सामाजिक अधिकार उनको नारा थियो । विद्यावारिधी गरेकी रोजा निकै चलाख, प्रतिबद्ध, सजिलै अरुको भडकावमा नआउने मात्र होइन, दूरदर्शी पनि थिइन् । भनिन्छ आजका लोकतान्त्रिक कम्युनिष्ट पार्टीहरुले रोजाकै विचार नजिक रहेर आफ्नो आन्दोलनलाई अगाडि बढाउँदै छन् ।