Charles Robert Darwin, Great Scientist and Founder of Theory of Evolution
 

विश्व प्रसिद्ध वैज्ञानिक चार्ल्स रोबर्ट डार्विनको जन्म सन् १८०९ मा इङ्गल्याण्डको सुजबरी भन्ने ठाउँमा भएको थियो । उनको पिता डाक्टर थिए भने उनी ८ वर्षको हुँदा उनको आमाको निधन भएको थियो । ८ वर्षको उमेरदेखि मातृवात्सल्यबाट विमुख भएका चार्ल्स डार्विनको रेखदेख उनकै सबैभन्दा ठूली दिदीले गरेकी थिइन् ।

चार्ल्स डार्विनका पिताले उनलाई डाक्टर बनाउन चाहन्थे तर उनको ध्यान भने जीव र वनस्पतितर्फ बढी थियो । उनले बाल्यकालमा नै आफ्नै घरमा एउटा प्रयोगशाला बनाएका थिए । बालककालदेखि नै उनलाई कीरा, फट्याङग्रा र अनेक किसिमका खनिज जम्मा गर्ने उनको ठूलो शौख थियो । उनी रसायनशास्त्रको सरल प्रयोग पनि गर्ने गर्दथे । स्कुलमा पढ्दा पनि उनी पढाइमा भन्दा कीरा फट्याङ्ग्रातर्फ रुचि राख्दथे । आफ्नो छोराको कृयाकलापबाट डार्विनका पिता चिन्तित हुने गर्दथे ।

Shishir Shrestha Milan Afanta
लेखक

चार्ल्स डार्विनलाई आर्युविज्ञान अध्ययनका लागि एडिनबर्ग विश्वविद्यालयमा पठाइयो । जुन समयमा उनी मात्र १६ वर्षका थिए । उनी अत्यन्तै संवेदनशील स्वभावका हुनाले चिकित्साशास्त्रप्रति उनी लिन हुन सकेनन् । त्यस समयमा बेहोश पार्ने औषधी नभएकोले मानिसको अप्रेसन निर्दयतापूर्वक गर्नु पर्दथ्यो, जसबाट उनी अत्यन्तै डराउने गर्दथे । जसको फलस्वरुप अन्ततः उनले आर्युविज्ञानको अध्ययनमा सफलता पाउन सकेनन् ।

सन् १८२८ मा उनलाई एडिनबर्ग विश्वविद्यालय छाडेर अध्यात्मशास्त्र अध्ययनका लागि क्याम्ब्रिज विश्वविद्यालय पठाइयो । क्याम्ब्रिज विश्वविद्यालयमा पढ्दा उनी आध्यात्मशास्त्रभन्दा भ्रुण जम्मा गर्नपट्टि लागे र उनले आफ्नो विषयमा डिग्री हासिल गरे । डिग्री हासिल गर्ने समयसम्म उनले विश्वविद्यालयमा वनस्पतिशास्त्र र भूगर्भशास्त्रमा धेरै वैज्ञानिकहरु उनका प्रियपात्र बनिसकेका थिए ।

चार्ल्स डार्विन सन् १८३१ मा एउटा सुनौलो मौका पाए । क्याप्टेन फिजरोयको रेखदेख र नेतृत्वमा इङ्गल्याण्डको बिगल नामको समुन्द्री जहाज सन् १८३१ मा नै संसारको वैज्ञानिक यात्रामा जानुपरेको थियो, जसमा एउटा प्रकृति वैज्ञानिकको पनि आवश्यकता थियो । त्यस प्रकृति वैज्ञानिकको ठाउँमा उनका साथीहरुले चार्ल्स डार्विनको नाम सिफारिस गरे । जसको परिणामस्वरुप उनी पाँच वर्ष लामो वैज्ञानिक यात्रामा दक्षिण अमेरिका, न्युजिल्याण्ड, अष्ट्रेलिया र अन्य राष्ट्रको भ्रमण गरे । त्यस समयमा उनी जम्मा २२ वर्षका थिए । वैज्ञानिक यात्राको क्रममा डार्विनले विश्वका विभिन्न जीवजन्तुहरुको अध्ययन गर्ने मौका पाए, जसबाट विकासवादको सिद्धान्त पत्ता लगाउन उनलाई सजिलो भयो ।

चार्ल्स डार्विन बेलायतका प्रकृति वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनीभन्दा पहिला यो विश्वास गरिन्थ्यो कि पृथ्वीमा अलग—अलग जीवहरुको उत्पत्ति अलग—अलग रुपमा भएको थियो र त्यो रुपबाट केही पनि परिवर्तन भएका थिएनन् । उनले यो धारणालाई गलत सिद्ध गरे र आफ्नो अध्ययनको आधारमा यो सिद्ध गरेकी सबै जीवजन्तुहरुको आजको रुप कुनै एउटा सरल प्राणीबाट भएको हो, जुन करोडौँ वर्ष पहिले पृथ्वीमा जन्मेको थियो । त्यही प्राणीबाट सबै बोटबिरुवा र जन्तुहरुको उत्पत्ति भयो र एक क्रमिक विकास अन्तर्गत आजको यो रुप धारण गरेको हो ।

चार्ल्स डार्विनले सन् १८३९ मा एम्मा बेजवुड नामकी महिलासँग विवाह गरेका थिए । उनका १९ वटा बच्चाहरु जन्मे भने ७ वटा मात्र जीवित रहे । उनका ४ छोराहरु उच्च श्रेणीका वैज्ञानिक थिए भने ३ जना छोराहरु रोयल सोसायटी अफ लण्डनका फेलो नियुक्त भए । २० वर्षको अथक मेहनतबाट सन् १८५८ मा चार्ल्स डार्विनले अल्फ्रेड रसेल वेलेससँग मिलेर संयुक्त सोध पत्र निकालेका थिए ।

सन् १८५९ मा उनको प्रसिद्ध पुस्तक “द ओरिजन अफ स्पेसिज बाई नेचुरल सेलेक्सन” प्रकाशित भयो । जुन छाप्ने बित्तिकै सबै बिक्री भयो । उनले सन् १८६८ मा “द भेरियसन अफ एनिमल्स एण्ड प्लाण्टस् अण्डर डोमेष्टिकेसन” प्रकाशित गरे जसमा उनले जीवको विकासबारे आफ्नो वैज्ञानिक धारणा प्रस्तुत गरेका छन् । उनले अन्य प्रसिद्ध वैज्ञानिक कृतिहरुमा “इन्सेक्टिभोरस प्लान्ट्स” र “डिसेन्ट अफ म्यान” पर्दछन् ।

जीवको विकास कसरी भयो भन्ने विषयमा सबैभन्दा पहिले वैज्ञानिक ढंगबाट प्रष्ट पार्ने वैज्ञानिक चार्ल्स डार्विन नै हुन् । आफ्नो कठोर अध्ययन, अनुसन्धानबाट मानिसको विकास वनमानिस (एक प्रकारको बाँदरबाट) भएको थियो भनेर ठोकुवा गर्ने वैज्ञानिक पनि चार्ल्स डार्विन नै हुन् ।

यस्ता महान वैज्ञानिक पनि सन् १९ अप्रिल १८८२ देखि हाम्रो सामु रहेनन् । ७४ वर्षको पाको उमेरमा विभिन्न वैज्ञानिक मान्यताहरु दिएर चार्ल्स डार्विन सदासदाका लागि विदा भए । उनलाई न्युटनको समाधि नजिक वेस्ट मिनिस्टर ऐवमा गाडियो । महान् वैज्ञानिक चार्ल्स डार्विन हाम्रो माझ नभए पनि आफ्नो योगदानका कारणले सदासर्वदा वैज्ञानिक संसारमा चम्किरहने कुरामा कुनै शंका छैन । विश्व प्रसिद्ध महान् वैज्ञानिक चार्ल्स डार्विन सदा सदाको लागि अमर छन् ।