काठमाडौँ, नेकपा अध्यक्ष प्रचण्ड र उहाँकी जीवन संगीनी सीता दाहालकाे विवाहकाे ५० औं विवाहोत्सव पक कार्यक्रम गरी मनाइएको छ । अध्यक्ष प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियाे ।
पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । विवाहकाे ५० औं बर्षमा गरिएकाे वैवाहिक वर्षगाँठ कार्यक्रमले सीता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको अध्यक्षकाे परिवारले जनाएकाे छ ।
विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपाका स्थायी कमिटीका अधिकांश नेताहरु, नेपाल सरकारका मन्त्रीहरू र अध्यक्षका प्रचण्डका नातेदारहरूको सहभागिता रहेको थियो । विवाह समारोहमा महिलाहरुले पञ्चेबाजा बजाएका थिए ।
बिहीबार निवासमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा वर्षगाँठ मनाउने निर्णय सबैको सल्लाहमा गरिएको बताउनुभयाे। उहाँले भन्नुभयाे – ‘एक वर्षअघि नै सीताले ५० औं वर्षको अवसरमा केही सानो कार्यक्रम आयोजना गर्नुपर्छ भनेकी थिइन् । यता छोरीहरुले पनि राम्रै हुन्छ भन्ने सुझाव दिए । सबैको सल्लाहअनुसार यो कार्यक्रमको आयोजना गरिएको हो ।’
‘सीताको स्वास्थ्य स्थितिको कारण हामीलाई अफ्ठ्यारो छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयाे – ‘यो विवाहले सीताको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छु ।’ यसले परिवारलाई ठूलै हौसला प्रदान गरेको अध्यक्ष प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयाे – ‘सीताको हौसला झनै बढिरहेको छ । आज उनी यसरी बसिरहेको देख्दा अचम्म लागिरहेको छ । उनको भित्रि मनोबल उच्च भएको छ ।’
अध्यक्ष प्रचण्डले यो कार्यक्रम सबैका लागि ठूलो प्रेरणा हुने धारणा राख्नुभयाे । याे कार्यक्रमले राष्ट्र र जनताको निम्ति काम गर्ने जिम्मेवारी बढेको महशुस गरेको उहाँले बताउनुभयाे । अन्तिम समयसम्म पनि जनताकै सेवामा लागिरहने उहाँकाे भनाइ थियाे ।