काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताउनुभएकाे छ ।  बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताउनुभयाे ।

‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै (अस्थायी शिक्षक) हरुलाई शिक्षण पेशामा राख्न सक्ने अवस्था छैन ।’ मन्त्री पोखरेलले भन्नुभयाे – ‘स्थायी हुनका लागि लिइएको मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागि नभएकाहरुले भनेअनुसार पुनः परीक्षा गर्न सकिँदैन। उनीहरुलाई सम्मानजनक बिदाइ गर्नें हो।’

शिक्षक सेवा आयोगको २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकलाई स्थायी हुने मौका प्रदान गर्नका लागि परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा उतीर्ण भएका अस्थायी शिक्षकहरु स्थायी भएका छन्। तर असफल हुने र परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै पुन आन्दोलन सुरु गरेका छन्।