काठमाडौं, काभ्रेको अनेकोटमा आज साँस्कृतिक प्रतिरोध दिवस मनाइँदैछ । तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिनको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवश मनाइने गरेको छ ।
तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारको राज्य पक्षबाट नृशंस हत्या भएको थियो ।
सोही दिनको स्मरणमा माओवादी निकट जनसांस्कृतिक महासंघ नेपालले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा अनेकोट हत्याकाण्डलाई स्मरण गर्दै आएका छन् ।
उक्त घटनामा जनकलाकारहरू च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुँवर, डम्बर श्रेष्ठ, सुभद्रा देवकोटा र चिनिमाया लामालाई जिउँदै जलाएर हत्या गरिएको थियो ।
काभ्रेको अनेकोटमा कार्यक्रम
साँस्कृतिक प्रतिरोध दिवसका अवसरमा जनसाँस्कृतिक महासंघ नेपालले बिभिन्न व्यक्तित्वहरुलाई जनसाँस्कृतिक सम्मानले सम्मानित गर्ने भएको छ । काभ्रेको अनेकोट स्थित पाँचखाल नगरपालिकामा आजै एक कार्यक्रम आयोजना गरी उक्त सम्मान दिइन लागेको आयोजकले जनाएको छ ।
हरेक बर्ष चैत्र ५ गते सांस्कृतिक सहिद दिवसको सन्दर्भ पारेर प्रदान गरिने २१औं सांस्कृतिक सहिद दिवस तथा दोश्रो जनसांस्कृतिक सम्मान २०७५ का लागि महासंघले निम्न व्यक्तित्वहरुलाई छनौट गरेको अध्यक्ष सरल सहयात्रीले बताउनुभएको छ ।
जनसांस्कृतिक सम्मान दिर्घ सेवा तर्फ जनकलाकार ( जेबी टुहुरे)
जनसांस्कृतिक सम्मान संगित तर्फ (खुशिराम पाख्रीन) (मरणोप्रान्त )
जनसांस्कृतिक सम्मान साहित्य तर्फ ( कुन्ता शर्मा )
जनसांस्कृतिक सम्मान चलचित्र तर्फ (प्रेम सुब्बा)
जनसांस्कृतिक सम्मान नाटक तर्फ ( कृष्णभक्त महर्जन )
जनसांस्कृतिक सम्मान गायन तर्फ ( कर्ण बहादुर गौतम परियार, बिद्रोही)
जनसांस्कृतिक सम्मान ललितकला तर्फ ( नरेन्द्र भण्डारी)
जनसांस्कृतिक सम्मान नृत्य तर्फ ( शान्ति कठायत, प्रतिक्षा)
कार्यक्रमलाई पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा प्रभाकर र मणी थापाले सम्बोधन गर्नुहुने वताइएको छ ।