काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगिन नदिन नेताहरुबीच कचिङ्गल सिर्जना गर्न खोजिएको बताउनुभएकाे छ ।
नयाँ शक्ति नेपालकी नेतृ तथा संविधान सभाकी सदस्य सीमा विकलाई पार्टीमा स्वागत गर्न बुधवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेकपाले सरकारको नेतृत्व गरेको केही तत्वलाई नपचेकाे हुनाले पार्टी एकता टुंगिन नदिन नेताहरुबीच कचिङ्गल सिर्जना गर्न खाेजिएकाे बताउनुभयाे ।
विभिन्न भ्रम र षड्यन्त्र परास्त गर्दै नेकपा अगाडि बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले बुधबार बिहान मात्रै पार्टी एकतालाई टुंग्याउन बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल भएको जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे – ‘पोलिटब्युरो र जनवर्गीय संगठन बनाउने विषयमा हामी एक कदम अगाडि पुगेका छौँ । अब केही दिनमै यसको घोषणा हुन्छ ।’ अध्यक्ष प्रचण्डले जनताले चाहे जस्तो बजेटको तयारी भइरहेको पनि जानकारी दिनुभयाे ।
उहाँले सीमा बिकलाइ स्वागत गर्दै सबै कम्युनिष्टहरु नेकपामा गोलबद्ध हुने बताउनुभयाे । अबका केही दिनमा अरु साना ठूला कम्युनिष्ट समूह नेकपामा आउने उहाँकाे दावी थियाे ।
























