काठमाडौँ, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रचण्डले आफ्नो हत्या गर्न खोजेको भनी सफेद झूट बोलेको बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपाले पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको प्रष्ट पारेको छ ।
आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको, एक कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छेसमेत खटाएको भनी सार्वजनिक रूपमा बोलेको कुरा सफेद झूट भएको नेकपाले जनाएको छ ।
नेकपाको आधिकारिक मुखपत्र इ-रातोखबरमार्फत नेकपाले प्रचण्डले आफ्नो हत्या गर्न खोजेको भनेर बोलेको विषयलाई समाचारमार्फत खण्डन गरेको हो ।
‘पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन् । यो कुरामा कुरामा कत्ति पनि सत्यता रहेको छैन’- नेकपाले भनेको छ – ‘ जनता र राष्ट्रका पक्षमा सङ्घर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन् ।’
‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फाँसिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ । यो कम्पनीले युद्ध लाद्न खोजिरहेको छ । यसैको एउटा हथकण्डा हत्याको प्रचार हो’ – नेकपाले भनेको छ ।