हो ची मिन्हः परिचय
यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे । तिनै महान् एसियाका मार्क्स, लेनिन र स्टालिनका अनुयायी हुन् हो ची मिन्ह ।
मई १९ सन् १८९० मा भियतनामको नुएन प्रान्तको किमलिन गाउँमा जन्मेका हो ची मिन्ह, मुख्य गरी दोस्रो विश्वपछि तथा भियतनाम युद्धको समयमा विश्वप्रसिद्ध नाम हो । अझ संयुक्त राज्य अमेरिकी साम्राज्यवाद विरोधी भियतनामी युद्धका नायक एवम् भियतनाम क्रान्ति र मुक्ति आन्दोलनका प्रेरकको रुपमा यो व्यक्तित्व मार्क्सवादी, समाजवादी र क्रान्तिकारीहरुको मन मस्तिष्कमा छाप बनेर बसेको छ । उनलाई भियतनामका मात्र होइन समग्र सामाज्यवाद विरोधी आन्दोलनका अगुवाको रुपमा चिनिने गरिन्छ ।
बाल्यकाल
त्यस समय भियतनाम फ्रान्सको महत्त्वपूर्ण उपनिवेश थियो । धान र रबरको अमूल्य स्रोत । औपनिवेशका सामु गरिव भियतनामी निरीह थिए । आफ्नै जन्मभूमिमा अधिकार विहीन थिए । अनि सुखि जीवनको आसा न्यून थियो । त्यसै समय परिवारको तेस्रो सन्तान र दोस्रो छोराको रुपमा नुयन सिन कुन जसलाई पछि विश्वले हो ची मिन्ह भनी चिन्यो, उनको जन्म भयो । उनी भियतनामका ती गरिव दुःखीहरुको जीवन बदल्ने र देशलाई स्वतन्त्र बनाउने नायक बने ।
उनी ११ वर्षकै हुँदा अर्को सन्तान जन्माएपछि आमाको मृत्यु भयो । एक गरिव परिवारमा जन्मिएका उनले सरकारी जागिर गर्ने बाबुका प्रोत्साहनका कारण शिक्षा पाउने अवसर पाए । त्यसैले उनी चिनीया परम्परागत र फ्रान्सेली प्राविधिक दुवै शिक्षा लिए । उनका पिता पनि स्वतन्त्रताका पक्षधर थिए । त्यसैका कारण उनको जागिर खोसियो र उनलाई शारिरिक कष्टकर सजाए समेत दिइयो । मिन्हले यो देखेका थिए तर अझै सानै थिए । त्यसबेला समय समयमा छिटफुट विद्रोहहरु र स्वस्फुर्त संघर्षहरु भएपनि फ्रान्सेलीहरु र भियतनामका सम्पन्न वर्ग ती आन्दोलनहरुलाई निर्ममता पूर्वक दमन गर्दथे ।
मुख्यगरी १९०८ को किसान विद्रोह यस्तै क्रममा भएको थियो । उपनिवेश र शोषणको विरोध गर्दै प्रर्दशन भएको थियो । प्रदर्शनमा भएको दमनले युवा होची मिन्हको मस्तिष्कमा ठूलो चोट परेको थियो । त्यसको दोष कलेजमा पढ्दै गरेका २१ वर्षे हो ची मिन्हलाई पनि लाग्यो र उनी कलेज छोड्न वाध्य भए । अनि फ्रान्सेली जहाजमा भान्सेको काम गर्न थाले । यस अवसरमा विभिन्न महादेश घुम्ने मौका पाएँ । औपनिवेशको वर्वरता देखे । अफ्रिका, युरोप र उत्तर र दक्षीण अमेरिका पुगे । उनले संयुक्त राज्यमा स्वतन्त्रता पनि देखे । त्यसपछि उनी युरोप पुगे । उनी सोभियत क्रान्तिको समय लण्डनमा थिए । त्यसपछि फ्रान्समा पुगी फेरी मजदुरीमा संलग्न भए । त्यही उनी क्रान्तिकारी बनी निस्किए ।
क्रान्तिको सुरुवात
हो ची मिन्ह १९१७ देखि १९२३ सम्म फ्रान्समा रहे । उनी सोभियत क्रान्तिबाट निकै प्रभावित भए । उनी देशको स्वतन्त्रता र क्रान्तिका लागि अघि सरे । उनले सन् १९१७ मा फ्रान्समा रहेका भियनतामीहरुलाई संगठित गर्दै प्रथम विश्व युद्ध अन्त्य गर्ने भर्सेल्स शान्ती सम्मेलनमा ८ बुँदे माग अघि सारे र इन्डो-चाइनालाई समान अधिकार दिने माग राखे । उनको मागको सुनुवाई नभए पनि यसले उनलाई सम्पूर्ण भियतनामी समक्ष चिनाउने कार्य गर्यो । उनले औपनिवेश विरुद्ध विभिन्न प्रकाशनहरु गरे ।
सोभियत क्रान्तिको सफलतापछि उनी सन् १९२० मा फ्रान्सेली कम्युनिष्ट पार्टीको एक संस्थापक बने । उनी सन् १९२३ मा सोभियत पुगे र कम्युनिष्ट इन्टरनेशनलको पाँचौ सम्मेलनमा भाग लिए । अब समान अधिकार, राष्ट्रियता र स्वतन्त्रता चाहने उनमा क्रान्तिकारी बने । उनले क्रान्तिमा किसानको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिए । कोमिन्टर्नबाट उनले दक्षिण चीनमा कम्युनिष्टहरुलाई संगठित गर्ने जिम्मेवारी पाए र चीन प्रस्थान गरे । हङकङमा वैठक गरे । तर च्याङ काई सेकको सेनाले उनलाई पक्रिने प्रयास गर्यो । हो ची मिन्ह भागेर थाईल्याण्ड पुग्नुभयो र त्यही शिक्षक बन्नु भयो ।
गुमनाम दश वर्ष
त्यसपछिका १० वर्ष उनी कहाँ गए र उनले के के गरे न त सम्पूर्ण विवरण छ न त उनले गरेका क्रियाकलापको किन गरे भन्ने व्याख्या । कतिपयका लागि उनी थाइल्याण्डमा भिक्षु बनेर शिक्षा दिएका थिए र अन्यका लागि माओ र स्टालिनसँग बैठक गर्दै थिए । उनी हराएको र मरेको समेत हल्ला चल्यो । तर उनी गुरिल्ला संघर्षको तयारीमा थिए । समय अनुकूल भएपछि र तैयारी पुगेपछि हो ची मिन्हलाई लाग्यो अब सहि मौका आयो । सन् १९४१ मा ३० वर्षपछि उनी भियतनाम फर्के र गुरिल्ला युद्ध सुरु गरे । उनीसँग केहि थिएन मात्र कुशल संगठकको क्षमता र वैचारिक स्पष्ठता ।
उनले पहिलो कुरा किसानसँग संवाद र सम्पर्क गर्ने गरे । त्यतिबेला ९० प्रतिशत भियतनामी किसान थिए । उनले आफ्नो समुहको न्युकियस बनाउन थाले । उनले युवाका साथै विभिन्न राष्ट्रवादी संगठनलाई आवद्ध गर्दै गए ।
दोस्रो विश्वयुद्धमा जापानको साम्राज्य बढ्दै जाँदा विभिन्न एसियाली देश उसको कब्जामा परे । त्यस समय चीन पनि जापानको साम्राज्यविरुद्ध लडिरहेको थियो । सन् १९४१ सम्ममा पुरै भियतनाम पनि यसको अधिनमा रह्यो । त्यसबेला मिन्हले चिनका कम्युनिष्टहरुको सहयोग पाउँने आशामा चिन लागे । तर उनी पक्राउ परे । उनले आफनो जीवनमा महत्त्वपूर्ण १४ महिना जेलमा मात्र बिताएनन् निकै कष्टकर जीवन बिताए । उनी रोगको शिकार बने । र बाँच्ने आशा कम भएपछि उनलाई भियतनामको सीमामा छोडियो ।
जापानको हार र स्वतन्त्रता
उनी बाँचेर भियतनाम पुगे । त्यसपछि उनलाई लाग्यो जापानको दुश्मन संम्युक्त राज्य अमेरिकाले भियतनामको स्वतन्त्रतामा सहयोग गर्ने छ । उनको यो चाहनामा सिआइएको रुची भयो । उनीसँग संयुक्त राज्य अमेरिकाले केहि समय नजिकको सहकार्य भयो । तर उसको गिद्दे नजर पनि भियतनामाथि पर्दै गयो । दोस्रो विश्वयुद्धमा जापानको हार भएपछि भियतनामीको विजय भयो । उनीहरुले उत्तरी भियतनाममा विशाल जनप्रदर्शन गरी स्वतन्त्रताको विजय उल्साह भनाए । तर ब्रिटिश र अमेरिकीहरु त्यहीँ रहिरहे ।
हो ची मिन्ह्रले भियतनामको राजधानी हनोइमा ५ लाख जनताको विशाल र्यालीलाई सम्बोधन गर्दै भियतनाम गणतन्त्र भएको घोषणा गरे । त्यसबेला उहाँले घुँडामा टालेको खाकी रङको पाइन्ट लगाउनु भएको थियो । सन् १९५१ मा भियतनाम वर्कर्स पार्टीलाई मार्क्सवादी सिद्धान्तमा पुर्नगठन गर्नुभयो । पार्टी अधिवेशनले उहाँलाई अध्यक्ष छान्यो र उहाँ राष्ट्रपति बन्नुभयो ।
यो स्वतन्त्रताको खुशी टिक्न सकेन जापानको दोस्रो विश्वयुद्धमा हार भएपछि फेरि फ्रान्सको गिद्दे नजर हटेन र फर्कियो । केहि समय ब्रिटिश र फ्रान्सबीच टकराव भयो तर पछि फ्रान्सको कब्जामा रहन पुग्यो । यिनै टकरावका बीच भियतनाममा चरम शोषण बढ्दै गयो । जनता अझ भोकमरी र गरिबीको चपेटामा परे । अनि हो ची मिन्ह फेरि गुरिल्ला युद्ध जसलाई भियत मिन्ह भनिन्छ त्यही गर्न बाध्य भए ।
सन् १९४६ देखि सन् १९५४ सम्म निरन्तर राष्ट्रियताको संघर्ष चलिरह्यो । संयुक्त राज्यको सहयोगको बावजुत सन् १९५४ मा फ्रान्सले हार स्वीकार गर्न बाध्य भयो । तर जेनेभामा दुवै पक्ष बीच सम्झौता गर्दा अमेरिकाले धुर्त्याइँ गर्यो र भियत मिन्हको कब्जामा रहेको भाग उत्तरी भियतनाम रहने र बाँकी दक्षिणी भाग छुट्टै देश बन्ने भनी आफ्नो अधिनमा रहने गरी देश टुक्रियो । तर अमेरिकीहरु, फ्रेन्चहरु, जापानीहरु र उनीहरुका समर्थकको रुपमा कार्यरत केही भियतनामीहरु समेत भई जनवरीमा सम्मेलन गरे र अमेरिकी चालबाजी अनुसार सन् १९५४ मा भियतनामलाई उत्तर र दक्षिण भागमा विभाजन गरे । होची मिन्हले त्यसको कडा विरोध गर्दै मातृभूमिको एकीकरणका निम्ति पुनः अमेरिकी साम्राज्यवादका विरुद्धमा लड्न जनतालाई आह्वान गर्नुभयो ।
जब उत्तरी भियतनाम चीन र सोभियतको मित्र शक्ति बन्यो र इन्डोनेसिया, लाओ, टिमोर, क्यम्बोडिया, कोरिया लगायतका देशमा कम्युनिष्ट व्यवस्थाप्रतिको आस्था बढ्दै गयो । उता उत्तरी भियतनाममा भूमिसुधार लगायतका सुधारका कामले दक्षिणीवासी पनि प्रगतिशील सरकारप्रति र दुई भियतनामको एकताप्रति आकर्षित भए । यसले संयुक्त राज्यलाई चिन्ता लाग्यो । यसले १९६१ मा ठूलो संख्यामा आफ्ना सैनिक भियतनाम पठायो ।
दोस्रो इन्डो-चाइना युद्ध वा भियतनाम युद्ध
त्यसपछि बहुचर्चित भियतनाम युद्ध अब उत्कर्षमा पुग्यो । लगभक ५ लाख अमेरिकी सेना भियतनाम आइपुग्यो । तर भियत मिन्हका सेना र सम्पूर्ण जनता त्यसमाथि खनिए । लगभग १० वर्ष भीषण युद्ध भयो । अमेरिकाले सम्पूर्ण दोस्रो विश्वयुद्धमा प्रयोग गरिएभन्दा बढी बम खसायो । यति धेरै हतियार र विष्फोटक पदार्थको प्रयोग गरिएकी अमेरिकाको ठूलो धनराशी खर्च भयो । लगभग ५८ हजार अमेरिकी सैनीकले ज्यान गुमाए र अन्त्यमा हार मानी सन् १९७२ पछि विस्तारै अमेरिकी सेना फर्कन थाले । अनि सन् १९७५ अप्रिल ३० मा सम्पूर्ण सैगोन शहर सहित दक्षिणी भियतनाममाथि भियत मिन्हको विजयसँगै भियतनाम एक भयो । अमेरिकी साम्राज्यवाद पराजय भयो । अनि यसले कम्बोडिया, लाओस, टिमोर लगायतका देशका कम्युनिष्ट लहर ल्यायो ।
अन्त्यमा,
हो ची मिन्ह्रले थुप्रै मार्क्सवादी रचनाहरु लेखे । उनले साम्राज्यवाद विरोधी युद्धको अनुभव बटुले । उनका रचनाहरुको अध्ययनले क्रान्तिकारीहरुलाई थप प्रेरणा दिएको छ । उनको जीवन संघर्षमा रह्यो । अमेरिकीसँग लड्दा हजारौँ वीरहरुको ज्यान गइरहेको तथा देश र जनताका लागि काम गर्दा गर्दै उनको मृत्यु भयो । ७९ वर्षको उमेरमा सन् १९६९ सेक्टेम्बर ३ मा उनको मृत्यु भएको थियो । सन् १९७५ मा अमेरिकी साम्राज्यवादीले हार खाएर फर्कियो । तर हो ची मिन्हले त्यो जित र दुई भियतनामको एकताको अभियान लिएरै मर्नुपर्यो । भियतनामको एकीकरण गर्ने उनको सपना आफ्नै आँखाले त देख्न पाएनन् तर साकार अवश्य भयो । उनको पार्थिव शरीर अझै पनि हानोइको माउसोलिइमको केन्द्र हलमा चिस्याइ सुरक्षित राखिएको छ ।