Pushpa Kamal Dahal Prachanda
 

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको बताउनु भएको छ ।

आज गणतन्त्र दिवसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो ।

“मुलूकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलूकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको छ । संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त्र गरेका छन् । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो, सम्पूर्ण कम्युनिष्टहरुका लागि प्रेरणाको विषय हो,” शुभकामना सन्देशमा उल्लेख छ ।

मुलुकमा गणतन्त्रको बिजारोपण गर्ने दश बर्षे महान् जनयुद्धका सुप्रिम कमाण्डर तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले शुभकामना सन्देश मार्फत सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको स्मरण गर्नुका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नाो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान र सम्पूर्ण घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

उहाँले सो अवसरमा नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुको काँधमा सुम्पिएको जिकिर गर्दै “वामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु हाम्रै जिम्मेवारी हुन आएको छ,” भन्नुभएको छ ।

२१ औं शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई हार्दिक अपील पनि गर्नुभएको छ ।

शुभकामना सन्देशको पूर्णपाठः

सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नाो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । सम्पूर्ण घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त गर्दछु ।

मुलुकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलुकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मुख संविधान निर्माण भएको छ । संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त्र गरेका छन् । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो, सम्पूर्ण कम्युनिष्टहरुका लागि प्रेरणाको विषय हो ।

नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीहरुको काँधमा सुम्पिएका छन् । वामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु हाम्रै जिम्मेवारी हुन आएको छ । इतिहासले सुम्पिएको यस गुरुत्वपूर्ण जिम्मेवारीलाई वहन गर्नु हाम्रा लागि अवसर र चुनौति दुबै हो । तसर्थ, म यस अवसरमा २१ औं शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई हार्दिक अपील गर्दछु ।

अन्त्यमा, राजनीतिक परिवर्तनलाई जनताको जीवन बदल्ने शासन पद्दतिका रुपमा स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीहरुमा हार्दिक अपील गर्दै फेरि एकपटक गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद !

१५ जेठ, २०७६

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Chairman Prachanda Republic Day 2076