काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ।
पार्टीका अध्यक्ष अमर यादवद्वारा जारी विज्ञप्तिमा पार्टीका सम्पूर्ण नेता कार्यकर्ता नेकपामा समायोजन भएको घोषणा गरिएको छ। मंगलवार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयाेजित एक कार्यक्रममा पार्टी प्रवेश कार्यक्रम लगत्तै अध्यक्ष अमर यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै मधेस तराई फोरम पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समायोजन भएको घोषणा गर्नुभएकाे छ ।
यस्तो छ साे पार्टीका अध्यक्ष अमर यादवद्वारा जारी प्रेस विज्ञप्ति
संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवम् आदिबासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात गर्दै संविधानमा देखिएका केही असन्तुष्टीलाई आगामी दिनमा सरकार एवं संसदको माध्यमबाट सम्बोधन हुने कुराप्रति विश्वास व्यक्त गर्दै मधेस तराई फोरम पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समायोजन भएको घोषणा गर्दछौं।
यसै विज्ञप्तिमार्फत् पार्टीका सम्पूर्ण निकायका साथीहरु तथा आम जनसमुदायमा जानकारी गराउन चाहन्छौं।