Barshaman Pun 'Ananta', वर्षमान पुन 'अनन्त'
 

दोलखा, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ।

उर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्था बारेमा जानकारी लिन शुक्रवार साँझ दोलखा पग्नुभएको हो ।

मन्त्री पुन राष्ट्रिय गौरवको रुपमा रहेको तामाकोसी जलविद्युत आयोजनालाई समयमै ल्याउने पहलका साथ त्यहाँ पुग्नुभएको हो । ।

उहाँले शनिबार बिहान आयोजनाको वाँधस्थल, सुरुङ, माथिल्लो पेनिस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर जानकारी लिनुभयो। मन्त्री पुनले करिब तीन घण्टा आयोजना स्थलको निरीक्षण गर्नुभएको थियो।

मन्त्री पुनसहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्ण ओलीपनि आयोजनास्थल पुग्नुभएको छ । उहाँले तोकिएको समयमा तामाकोसी जलविद्युत आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भिर भएर काम गर्न निर्देशन दिनुभयो ।

आयोजनास्थलको निरिक्षण भ्रमण सम्पन्न गरिसकेपछि सञ्चारकर्मीसँग शनिवार कुरा गर्दै मन्त्री पुनले आयोजना समय तालिकाभित्रै सम्पन्न हुने दावी गर्नुभयो ।

मन्त्री पुनले भन्नुभयो – ‘यो निकै महत्वपूर्ण आयोजना भएकाले यसमा हाम्रो गम्भिर चासो छ ।आयोजना समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनको लागी मैले पुरै ध्यान केन्द्रित गरेको छु, म समय तालिकाभित्रै आयोजना पुरा हुनेमा विश्वस्त छु ।’

नेपालीले ठूला आयोजना गर्न सक्दैनन् भन्ने सोच विगतमा रहेको भन्दै यसबाट नेपालीले ठूला आयोजना बनाउन सक्छन् भन्ने पुष्टि भएको धारणा राख्नुभयो । तामाकोसी जलविद्युत आयोजना नेपालकै लागी नमुनायोग्य र महत्वपूर्ण भएको उहाँकाे भनाइ थियाे ।

केही समयअघि ‘भर्टिकल’ साफका कारण केही समस्या आएको हुनाले ‘टेक्सम्याक’ र ‘एन्ड्रिज’को विचमा समझदारी बनाईदिएको भन्दै मन्त्री पुनले अहिले द्रुततर गतिमा काम अगाडि बढिरहेको बताउनुभयो । आगामी मंसिरसम्म सवै काम सम्पन्न हुने गरी काम भईरहेको उहाँको भनाइ थियो ।