काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान राजनैतिक उपलब्धिमा दलित समुदायको निकै महत्त्वपूर्ण योगदान रहेको र दलित मुक्तिको यात्रा लामो यात्रा रहेको बताउनु भएको छ ।
राजधानीमा आयोजित जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ (संशोधित)को प्रभावकारिता तथा कार्यान्वयनको अवस्था विषयक संवाद र ‘इभा क्यासेल सामाजिक न्याय पुरस्कार’ वितरण समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष प्रचण्डले आफूले दलितहरूलाई अधिकारसम्पन्न गराउन गरेको प्रयत्न सफल नहुन सकेकोमा आफू दुःखी रहेको जनाउँदै दलित मुक्तिको यात्रा लामो यात्रा रहेको र संस्कार बदल्ने कुरा रातारात हुनु सम्भव नभएकाले त्यस किसिमका अभियानहरू अथक रूपमा जारी रहनुपर्ने समेत अध्यक्षले बताउनुभयो ।
सुप्रिम कमाण्डरको रुपमा दश वर्षे महान जनयुद्धको नेतृत्त्व गर्नुभएका अध्यक्ष प्रचण्डले विशेष गरेर दलित महिला समुदायको विद्रोहले जनयुद्धमा उर्जा भर्ने काम गरेको स्मरण गर्दै उहाँले कानुनमा उल्लेख भैसक्दा पनि व्यवहारमा दलितविरुद्धको विभेद र छुवाछुत अन्त्य नहुनु आफैमा राम्रो नभएको बताउनुभयो ।
उहाँले सिद्धान्त र आदर्शका कुरा गर्ने पार्टीहरू भित्र पनि सामन्ती संस्कार विद्यमान रहेकाले पार्टीहरू भित्रै पनि दलित जनप्रतिनिधिहरूविरुद्ध भेदभावको अवस्था देखिनु दुःखद रहेको बताउनुभयो ।
उले जनयुद्धको समयमा दलित मुक्तिको प्रश्नले स्पष्ट दिशा लिन थालेको र उक्त समयावधिमा भएका धेरै जसो अन्तरजातीय विवाहहरूले जातीय विभेद मेटिने आशा गरिएको भए पनि त्यस्ता परिवारहरू विघटित हुँदै जानु र दलितहरूको अवस्था पूर्ववत स्थितिमा फर्किनु चिन्ताजनक रहेको बताउनुभयो ।
२००७ सालदेखि नै पछाडि पारिएकाहरूले अग्रगमनका निम्ति बलिदान दिने र परिवर्तनपछि विस्तारै पुरानै वर्ग हावी हुँदै पहिले पछाडि पारिएको वर्ग र समुदाय फेरि सिमान्तीकृत हुँदै जाने प्रवृत्ति देखा परेको प्रचण्डको जिकिर थियो ।
सांस्कृतिक अभियानहरू निरन्तर रूपमा नचलिराखे संविधान र कानुनमा उल्लेख भएका कुराहरू कागजका खोस्टामा मात्र सिमित हुने सम्भावना रहेकाले संविधानमा भएका कुराहरूको इमान्दार कार्यान्वयन र नभएका कुराहरूको प्राप्तिका लागि संविधान संशोधन गराउन समेत यस्ता संस्कृतिक अभियानहरू महत्त्वपूर्ण हुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
आजको युग अग्रगमनको र उत्पीडितहरूले विजय प्राप्त गर्ने रहेको बताउँदै प्रचण्डले पार्टीको जुनसुकै तहमा पनि विभेदकारी व्यवहार भएको भए त्यसको जानकारी यथाशीघ्र पार्टी केन्द्र र सरकारमा पुगे त्यसको समाधान खोजिने बताए ।
कार्यक्रममा प्रदेश नम्बर ३ का १३ जिल्लाका दलित महिला नेतृत्वको सहभागिता रहेको थियो ।