काठमाडौ, कञ्चनपुरकी वालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या प्रकरणमा पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठी सहित ६ जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिवादी सेट्ठी, प्रहरी नीरिक्षक एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनालाई बुधबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले बताएकाछन् । कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा परेको थियो ।
यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल बुझाइसकेको छ । खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्काका विरुद्ध मुद्दा दायर गरेका थिए ।
निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक जगदीश भट्ट, प्रहरी नायब नीरिक्षक हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेपछि सरकाले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।