नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृ तथा ललितपुर क्षेत्र नं. ३ का सांसद पम्फा भुसालले सांसद सुविधा अन्तर्गत हालसम्म लिएकाे घरभाडा बापतकाे सुविधा फिर्ता गरेकाे जानकारी गराउनु भएकाे छ । सांसद भुसालले आज एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा जानकारी गराउनु भएकाे हाे ।
आज जारी गरिएकाे प्रेस वक्तव्यमा उहाँले काठमाडौं उपत्यकामा घर भएर भाडा लिएका सांसदहरुको सूचीमा आफ्नो समेत नाम आएकोमा आफू आश्चर्यमा परेको र संसद् सचिवालयको विवरणमा आफ्नो घर भएको उल्लेख गरेको बताउनु भएको छ ।
“संसद् सचिवालयले एकमुष्ठ तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु । संसद् सचिवालयको अभिलेख राख्ने सन्दर्भमा भएको कमजोरीले होस् या आफ्नै असावधानीका कारण भएको कमजोरीले किन नहोस् यसबारेमा प्रश्न उठाउने मिडियाकर्मी र मिडियालाई विशेष धन्यवाद दिन चाहन्छु ।”, प्रेस वक्तव्यमा उल्लेख छ ।
प्रेस वक्तव्यको पूर्ण पाठः
काठमाडौं उपत्यकामा घर भएर भाडा लिएका सांसद्को सूचीमा मेरो समेत नाम आएकोमा म आश्चर्यमा परेको छु । संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ । राजनीतिलाई मैले निस्ठापूर्वक गरिने सामाजिक सेवाको रुपमा लिएको छु र तदनुरुप चार दशकदेखि क्रियाशील छु । यसैले आर्थिक अनुशासनका बारेमा आफूसँग जोडेर उठ्ने उठाइने प्रश्नले मलाई धेरै नै गम्भीर बनाउने गर्दछ । संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु । संसद् सचिवालयको अभिलेख राख्ने सन्दर्भमा भएको कमजोरीले होस् या आफ्नै असावधानीका कारण भएको कमजोरीले किन नहोस् यसबारेमा प्रश्न उठाउने मिडियाकर्मी र मिडियालाई विशेष धन्यवाद दिन चाहन्छु ।
पम्फा भुसाल
प्रतिनिधि सभा सदस्य
ललितपुर क्षेत्र नम्बर ३
२०७५/०९/०१