काठमाडौँ, नेपाल इञ्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ । पाठकसँगै घुस दिएका कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरुले बुधवार आयोगमा बयान पनि दिइसकेका छन् ।
यस्तो छ उनीहरुको बयान
राजनारायण पाठक
इञ्जिनियरिङ कलेजको निवेदन आयोगमा दर्ता भएको थियो । निवेदनलाई विस्तृत अनुसन्धान गर्न प्रमुख आयुक्त र म समेतले अनुसन्धान अधिकृत तोकेको हो । त्यसपछि फाइल अनुसन्धान अधिकृतकहाँ पुगेको छ । एकचोटी तोकेपछि मलाई केही थाह छैन । धेरै पुरानो भएकाले सायद दुई वटा विषयमा निवेदन परेको थियो । एउटा कम्पनी रजिष्ट्रारको कार्यालयमा निजीकरण गरेको र अर्को कलेजको जग्गा निजीकरण गर्न खोजेको भन्ने विषयमा थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि आफ्नो निर्णय बदर गरिसकेको थियो ।
विस्तृत अनुसन्धानमा रहेको फाइल अनुसन्धान पूरा भएमा आयोगको पूर्ण बैठकमा पेस हुन्छ र त्यहीअनुसार निर्णय हुन्छ । अतः मुद्दाको गम्भीर्यतालाई विचार गर्दा पनि ७८ लाख रुपैयाँ दिएको भनाइ विश्वासप्रद छैन । साथै यसमा एउटा आयुक्तले केही पनि गर्न सक्दैन । लम्बोदर न्यौपानेले २०७५ साल भदौ १ गते निवेदन दर्ता गराएका थिए, त्यसबाट पनि स्पष्ट हुन्छ । सर्वप्रथम २०७५ साल फागुन २ गतेको कान्तिपुरमा लम्बोदर न्यौपाने र अर्को पक्षसँग लिएको प्रतिक्रियाबाट पनि निजहरुले कुनै लेनदेन नगरेको उल्लेख गर्नुभएको छ ।
शुभनारायण पाठक मेरो सहोदर भाइ हो र ज्ञानेन्द्र झालाई पहिलेदेखि चिन्दथे । ध्वजमान मोक्तानलाई मेरो कार्यालयमा आएपछि चिनेको हुँ । मोक्तानले पैसाको वार्गेनिङ गर्ने गर्थ्यो । त्यसलाई छल्न मैले विभिन्न बाहना गरी उम्कनु मेरो बाध्यता थियो । त्यसका लागि मैले केही असान्दर्भिक कुराहरु बोली विषयान्तर गर्दथे । उसँग कुनै खास काम विषयमा डिल भएको थिएन । जहाँसम्म भिडियो संवादको सवाल छ, आधुनिक प्रविधिको दुरुपयोग गरी ब्ल्याकमेल गर्ने उद्देश्यले मेरो फोटो र नानाथरीको संवाद भरी भिडियो खिचेको र प्रचार प्रसार गरेको देखिन आयो । मोक्तानले मलाई कार्यालयमा आएर धम्क्याएका थिए ।
यिनै विषयलाई लिएर मोक्तान मेरो घरमा आएको थियो । उसले पैसाको बार्गेनिङ गर्ने गर्थ्यो । त्यसलाई छल्न मैले विभिन्न बहानामा उम्किनु वाध्यता थियो । यसैका लागि मैले असान्दर्भिक कुराहरु बोली विषयान्तर गर्दथें । मलाई उसले गोप्यरुपमा भिडियो खिचेको याद पनि थिएन । म फसें भने ज्ञानेन्द्र पनि फस्छ अब गल्ती हुँदैन कान समाते भन्नुको तात्पर्य के हो भनी सोधिएको सवालमा अनधिकृत रुपमा खिचिएको भिडियोमा प्रसंगवश काम गर्ने जो पनि फस्न सक्छ भनी सामान्य हिसावले जे पनि बोलेको हुनसक्छ । साथै जो कोही अनधिकृत मानिसहरुलाई पनि मेरो आवास र कार्यालयमा पस्न दिनु नै मेरो गल्ती भएको हुँदा गफ गर्ने क्रममा केही शारीरिक हाउभाउ गरेको हो । श्रव्य दृश्यमा आफू प्रमुख आयुक्त भएपछि कति कमाउनुहुन्छ रु ५० करोड भनेको र ध्वजमानसँग एक महिनाको समय दिनुस् भनेको छ । सर्प पनि मरोस्, लौरो पनि नभाँचियोस्, मध्यस्तकर्ताको भूमिका निभाउनुहोस् भन्नुको आशय के हो भनी सोधिएको सवालमा ध्वजमानको धम्कीपूर्ण बार्गेनिङ छल्न के कुन प्रसंगमा के कसो भने अहिले यकिन भएर धेरै पहिलेको कुरा होला ।
श्रव्य दृश्यमा रु १ करोड ६५ लाखको डिलमा रु ७८ लाख लिइसकेको विषयमा कुनै प्रतिक्रिया नजनाएको, ध्वजमानलाई पहिला केस सेटल गराउनुस् अनि ल्याउने, कागज गराउने, त्यो कुरा हटाइदिने भन्ने सवालका सम्बन्धमा मैले रु ७८ लाख लिएको सरासर गलत हो । कुनै मेटेरियल एभिडेन्स (दसी प्रमाण) छैन । केस सेटलको कुरा आयोगमा विचाराधिन भएको हुँदा र म एक्लैले गर्न सक्ने केही नभएकोले यी सबै कुराहरु असान्दर्भिक र मलाई फसाउने बदनियत मालाफाइड इन्टेन्सन (बदनियत) देखिन्छ ।
श्रव्य दृश्य श्रृङखलाको क्रममा ज्ञानेन्द्र झाले ७८ लाख लगेर दिएको भनेर भन्छ भने तपाई स्वीकार्नु हुन्छ भन्ने ध्वजमानले प्रश्न गर्दा तपाईले हो भनी स्वीकारेको विषय एवं तपाई बाहेक अरुसँग रेकर्ड छ भनी ध्वजमानलाई सोधिएको विषय के हो भनी सोधिएको प्रश्नको सम्बन्धमा यो सबै कुरा गलत हो । मलाई केही थाहा छैन । उ ब्ल्याकमेल गर्ने मान्छे हो, अनधिकृत भिडियोका बारेमा मेरो विरुद्ध प्रमाण नलाग्ने हुँदा बोलिरहनु परेन ।
तपाई र ज्ञानेन्द्र कुमार झाबीच मैथिली भाषामा भएको अडियो संवादमा उल्लेख भएको प्रसंगहरु र तपाई र ज्ञानेन्द्रकुमार झाबीच अडियो संवादमा लेनदेनवाला कुरा सकाई दिऊँ, सरलाई दिने कुरा बाँकी बक्यौता त्यो भन्नुस् तथा त चुप म चुप बसौं भनेको अनि ज्ञानेन्द्र झाले समन्वय गर्नुपर्छ । जुन लेनदेन भएको छ, त्यसमा अडिग रहनु भन्ने जस्ता संवादका बारेमा सोधिएको प्रश्नको जवाफमा यो छ कि ज्ञानेन्द्र झाले मसँग कपोलकल्पित अडियो रेकर्ड पेस गरेको सुनी पाएँ । ती सबै अडियो रेकर्डमा कहींकतै रु एक करोड ६५ लाख दिनुभएको उल्लेख छैन । साथै ७८ लाख दिएको पनि कही उल्लेख छैन ।
यी सबै विषय ज्ञानेन्द्र झाको बारेमा यस आयोगको मिति २०७२ साल भदौ १३ गतेको निर्णय पछि ऊ सायद रजिष्ट्रार पदमा पुनर्स्थापित गराइदिनु भन्ने मात्र थियो । त्यो मैले गर्नसक्ने क्षेत्राधिकार थिएन । त्यसैले त्यस बेलादेखि प्रतिशोध साधेर उसले मलाई नियतवश अनावश्यक संवादमा जोड्दै मेरो बदनाम गर्न खोजेको रहेछ । उक्त अडियो रेकर्ड मेरो विरुद्ध प्रमाणमा लाग्न सक्दैन ।
मिसिल संलग्न हुन आएका श्रव्य दृश्य संवाद ज्ञानेन्द्र झा तथा ध्वजमान मोक्तान लगायतका बयान कागज समेतबाट तपाईले रिसवत बापत ७८ लाख लिएको देखिन्छ । यसरी सार्वजनिक पद धारण गरेको व्यक्ति रिसवत लिएकोमा भ्रष्टाचार निवारण ऐन अन्तर्गत किन कारबाही नगर्ने भनी सोधिएको प्रश्नमा मैले रिसवत घुस लिएको छैन । झुटा आरोप हो । ऐनको दफा ३ मा घुस लिने र दिने गरी दुई पक्ष हुनुपर्छ । मैले रिसवत लिएको छैन र दिनेले (लम्बोदर न्यौपानेले) नदिएको सम्पूर्ण कागजात र आयोगमा दर्ता गराएको निवेदनबाट प्रस्ट हुन्छ । दसी प्रमाण पनि छैन ।
अतः मलाई कारबाही हुनुपर्ने होइन । उल्लेखित व्यक्तिहरुको भनाइ ठीक भएको भए समयमा नै उजुरबाजुर गर्नुपर्थ्यो । तर डेढ वर्षपछि बीचमा ब्ल्याकमेलिङ गरी उजुरी सम्बन्धित निकायमा नदरी ढिलो दिएबाट पनि उहाँहरुको मनसाय बदनियतपूर्ण देखिन्छ र मलाई फसाउने गरेको छ । अतः रिसवत नलिएकाले कारबाही हुनु नपर्ने हो ।
लम्बोदर न्यौपाने
म शिक्षा क्षेत्रमा लगानी गरी हाल नेपाल इञ्जिनियरिङ कलेजको कार्यकारी अध्यक्ष हुँ । यस आयोगका पूर्वआयुक्त राजनारायण पाठकज्यूलाई गत साल यसै सम्मानित आयोगमा कलेजसँग सम्बन्धित अनुसन्धानका लागि बयान दिन आउँदा हाम्रो कलेज निजी लगानी र स्वामित्वको कलेजको हो । निजी कलेजको साझेदारहरुको विवाद अख्तियारको क्षेत्रमा पर्दैन । त्यसबेला प्रमुख आयुक्त तथा अन्य आयुक्तज्यूहरुलाई समेत भेटी सबै कुरा दर्शाएको हुँ । तत्कालीन सचिवज्यू समेतलाई सम्पूर्ण प्रमाणहरु पेश गरेको हो । त्यसभन्दा बढी केही चिनजान छैन । ज्ञानेन्द्र झा मेरो परिचित व्यक्ति होइनन् । उनीसँग मेरो सम्बन्ध छैन, याद पनि छैन ।