काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण ‘पहिचान सहितको संघियता, संघियता सहितको संविधान’ भन्ने नारा कार्यान्वयन गर्न नसकेको बताउनुभएकाे छ ।

‘पहिचान सहितको संघियता, संघियता सहितको संविधान’ भन्ने नाराका साथ निर्वाचनमा गएको तर पहिलो र दोश्रो संविधानसभाको निर्वाचनको परिणाममा निकै फरक परिणाम आएकाले नारालाई साकार पार्न आफु असफल भएको उहाँकाे स्वीकाराेक्ति थियाे । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले जातिय र भौगोलिक आधारमा ११ प्रदेशमा सहमति बनेको भएपनि पहिलो संविधानसभा सफल हुन नसक्दा कार्यान्वयन गर्न नसकिएकाे बताउनुभयाे ।

त्यस लगत्तै भएकाे संविधानसभाको दोश्रो निर्वाचनमा पनि अपेक्षित परिणाम आउन नसकेकाे उहाँले स्मरण गर्नुभयाे । अध्यक्ष प्रचण्डले अहिले पनि ‘पहिचान सहितको संघियता, संघियता सहितको संविधान’ भन्ने नारालाई आफुले नछोडेको बताउनुभयाे ।

उहाँले नेपालको राष्ट्रिय एकताका लागी सबैको पहिचान, अधिकार र आत्मसम्मानलाई समान ढंगले अघि बढाउने विश्वास व्यक्त गर्नुभयाे । संविधानमा उल्लेख  भएको पहिचान र अधिकारको बिषय कार्यान्वयनका लागी सरकार, राजनीतिक नेतृत्व र जनतासंग छलफल गरेर अघि बढाउने भन्दै उहाँले भन्नुभयाे – ‘मैलै तपाँईहरुसँग कुनै कुटनीतिक कुरा गरेको छैन, अहिलेको अवस्था सम्झाैताकाे  अवस्था हो, मैले कुनै पनि कुरा जनतासँग लुकाएको छैन, शान्ति प्रक्रिया पनि एक सम्झाैता नै हो।’

सम्भव हुने राजनीतिक उपलव्धीलाई संस्थागत गर्ने र अगाडी जाने बाटो कोर्नका लागी ऐतिहासिक निर्णय लिएको उहाँको भनाई थियाे । योजना आयोगको उपाध्यक्ष बनाउदा पनि आफ्नो पालोमा आदिवासी जनजाती समूदायलाई प्राथमिकता दिएको तर त्यो प्रयाप्त नभएको उहाँले सुनाउनुभयाे । अहिले विप्लवहरुले जे भनिराखेका छन्, त्यो आदिवासीको पक्षमा नरहेको र अहिले विद्रोहको आवश्यकता नरहेको उहाँकाे भनाइ थियाे ।