काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पावरको कुनै सोख नभएकाे बताउनुभएकाे छ ।

बिहिवार राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक रुपले कतिपयले  पावर केन्द्रित गरेकाे आराेप लगाएकाे भन्दै प्रधानमन्त्रीले साे आराेपकाे खण्डन मात्र गर्नुभएन आफूमा केवल देशको विकास र  जनताको परिवर्तनको सोख रहेकाे बताउनुभयाे ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आगामी पन्ध्रौँ आवधिक योजना अवधिमा नेपाल अल्पविकसितको सूचीबाट हटेर विकसित मुलुकमा स्तरोन्नतिका लागि आधार तयार हुने पनि बताउनुभयाे।  स्थिरतासँगै सरकार तीव्र आर्थिक विकासको प्रक्रियामा अघि बढेकाे उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयाे – ‘पन्ध्रौँ योजनाले देशको अवस्था परिवर्तन र पहिचानलाई बदल्नुपर्छ, त्यसका लागि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, सुशासन, पूर्वाधार विकास, मानव सूचकाङ्क आदि विषयमा ठोस प्रगति हासिल गरेर अल्पविकसितबाट विकासित मुलुकमा परिणत गर्ने आयोजनाको अघिल्लो अवधिमै हुनुपर्छ ।

 प्रधानमन्त्री ओलीले भन्नुभयाे –  ‘पन्ध्रौँ योजनाले देशको अवस्था परिवर्तन र पहिचानलाई बदल्नुपर्छ, त्यसका लागि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, सुशासन, पूर्वाधार विकास, मानव सूचकाङ्क आदि विषयमा ठोस प्रगति हासिल गरेर अल्पविकसितबाट विकासित मुलुकमा परिणत गर्ने काम आयोजनाको अघिल्लो अवधिमै हुनुपर्छ ।’

उहाँले आधारपत्रमा सरोकारवालाबाट आएका सुझावलाई समेटेर योजना आयोगले अन्तिम रुप दिने र त्यसलाई मन्त्रिपरिषद्बाट पारित गरिने बताउनुभयाे ।

राष्ट्रिय योजना आयोगले तयार गरेको पन्ध्रौं योजना आगामी आवबाट कार्यान्वयनमा ल्याइने प्रधानमन्त्रीकाे भनाइ  थियाे । योजनाको आधारमा दीर्घकालीन सोचसहितका २५ वर्षे रणनीति बनाइने छ । योजनाले भौतिक पूर्वाधार, सामाजिक सुधार, सुशासन, ऊर्जा, कृषि, पर्यटन आदि विषयलाई प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री ओलीले पन्ध्रौँ पञ्चवर्षीय योजनाका रुपमा भन्दा पनि रुपान्तरित अवस्थाको प्रथम सङ्घीय योजनाका रुपमा व्याख्या गरिनुपर्ने बताउनुभयाे।

पन्ध्रौं याेजनाअवधिमा समग्र राष्ट्रिय उत्पादन कम्तीमा ५० प्रतिशत वृद्धि हुनुपर्छ भन्दै उहाँले सोही जगमा अर्को पञ्चवर्षीय योजना अघि बढ्ने र त्यसले मुलुकको आर्थिक उन्नतिलाई गति दिने विश्वास व्यक्त गर्नुभयाे।

प्रधानमन्त्रीले भन्नुभयाे – ‘विकासलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्छ । अहिलेको संयन्त्र अलि खर्चालु छ, त्यसैले आर्थिक मितव्ययीता बढाउनुपर्छ, खाइरहेका सेवा लिइरहेको भन्दा पनि खान नपाउने र सेवाबाट बञ्चितलाई पहिला ध्यान दिनुपर्नेछ । कम लगानी कम खर्चमा बढी उत्पादन र आम्दानी हुनेगरी हाम्रा प्रयास अघि बढाउनुपर्ने जरुरी छ ।’

उहाँले परनिर्भरताले देशको अर्थतन्त्रलाई कमजोर तुल्याएको बताउँदै ऊर्जा उत्पादन बढाएर आयात प्रतिस्थापनको बाटोमा जानुको विकल्प नभएको उल्लेख गर्नुभयाे।

वातावरण संरक्षणका लागि नवीकरणीय ऊर्जा र हरित ग्यासको खपतमा जानैपर्ने हुनाले विकासको सन्दर्भमा पर्यावरणको चासोप्रति सजक हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयाे। शान्ति प्रवर्द्धन र वातावरण संरक्षणको विषयमा नेपालले विश्वलाई नेतृत्वदायी सन्देश दिनसक्ने  प्रधानमन्त्रीको भनाइ थियो ।