काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड दम्पत्तिले ५० औं वैवाहिक वार्षिकी मनाउने भएका छन् । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार, पत्नी सीता दाहालसँग विवाहको ५० वर्ष पुगेको अवसरमा यही बैशाख २६ गते चियापान कार्यक्रम आयोजना गरिने सचिवालयले जनाएकाे छ।
अध्यक्ष प्रचण्डकी नीजि सचिव तथा छोरी गंगा दाहालका अनुसार, सीमित व्यक्तित्व तथा आफन्तलाई निमन्त्रणा गरेर सामान्य चियापानको आयोजना गरि परिवार र आफन्तद्वारा शुभकामना दिने कार्यक्रम छ । गंगाले भन्नुभयाे – ‘आमा विरामी हुनुहुन्छ, उहाँलाई खुशी बनाउन पनि यस्तो सोचेका हौं।’ केही महिना अगाडि अमेरिका उपचारवाट फर्केपछि सीता दाहालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ ।
कक्षा १० मा पढ्दै गर्दा २०२६ सालमा प्रचण्ड र सीता दाहालकाे बिहे भएकाे थियाे । जन्मदिन या विवाहकाे वर्षगांठ जस्ता दिनहरुमा प्रचण्डले खासै चासाे नदिएतापनि पत्नी सीता दाहालकाे खुसी र सामाजिक परम्परा अनुसार पनि विवाहको ५० औं वर्षगाँठलाई विशेष महत्व दिईने भएकाेले प्रचण्डले सहमति दिएको सचिवालयले जानकारी दिएको छ ।













