काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसमाथि नियन्त्रण नगरेर नियमन गर्ने बताउनुभएकाे छ।

उहाँले केही सञ्चारमाध्यम सरकार र सत्तारुढ पार्टीविरुद्ध भ्रम फैलाउने काममा लागिरहेको बताउँदै त्यस्ता सञ्चारमाध्यमलाई नियमन गर्नुपर्ने बताउनुभयाे । उहाँले हुँदै नभएका कुरा बहसमा ल्याएर आफ्नै गरिमा घटाउन सञ्चारमाध्यम लागि परेको टिप्पणी गर्नुभयाे ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रण नभई नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएकाे हाे । उहाँले भन्नुुभयाे – ‘लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो । यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु ।’

मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह समेत गर्नुभयाे । सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने भन्दै उहाँले भन्नुभयाे – ‘प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ। स्वतन्त्रता अपहरित हुँदैन। ज्ञानेन्द्रसँग तुलना नगर्नु होला।’

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन आँट्यो भनेर अफवाह फैलाएकोप्रति पनि आक्रोश पोख्नुभएकाे छ । उहाँले भन्नुभयाे – ‘कसले फेसबुकमा प्रतिबन्ध लगाउने भनेको छ, कसले ट्विटरमा लगाउने भनेको छ, पैसा चाहिँ तिर्नुपर्छ कि पर्दैन यहाँबाट पैसा लगेपछि, ट्याक्स चाही तिर्नुपर्छ कि पर्दैन ।’