काठमाडौं, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले फोरम र नयाँ शक्ति दुवै विघटन गर्ने सहमतिमा हस्ताक्षर गरे । यादवले भट्टराईलाई संघीय परिषदको अध्यक्ष घोषणा गरे भने भट्टराईले यादवलाई केन्द्रीय समितिको अध्यक्ष घोषणाा गरे ।

कार्यक्रममा एकीकृत पार्टीमा अशोक राई वरिष्ठ नेता, राजेन्द्र श्रेष्ठ सहअध्यक्षसहित २३ पदाधिकारी सार्वजनिक गरिएको छ भने दुई पदाधिकारी पछि थपिने परिषदका अध्यक्ष भट्टराईले जानकारी दिए । ८ उपाध्यक्ष, महासचिव, सहमहासचिव तीन/तीन, चार सचिव र एक कोषाध्यक्ष छन् ।

पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । यस्तै उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

त्यसैगरी, उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह र कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।

एकीकृत पार्टीमा उपेन्द्र यादव समूह केपी ओली नेतृत्वको सरकारमा छ भने भट्टराई समूह प्रतिपक्षमा छ । यसप्रति संकेत गर्दै डा. भट्टराईले भनेका छन्, ‘अबे के हुन्छ भन्ने साथीहरुलाई शंका छ । हामीले सहमति गरिसकेका छौं, जनताको अधिकार छोड्नेवाला छैनौं ।’ पहिलो मोर्चा सडक, दोस्रो सदन भएको भन्दै उनले भने – ‘कहिलेकाहीँ आवश्यक पर्दा सरकारको मोर्चा पनि हुनसक्छ । तर, यो भरपर्दो मोर्चा होइन ।’

छिट्टै नै आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने हुनसक्ने भन्दै उनले अघि भने – ‘संविधान संशोधन गर्न सरकारले जुन आश्वासन दिएको छ, त्यो पुरा गर्दैन भने कुनै पनि बेला पार्टीले आवश्यक निर्णय गर्नेछौं ।’ दुवै दलका नेताहरुका अनुसार संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र नभए सरकार छाड्ने सहमति भएको छ ।

अध्यक्षद्वय भट्टराई र यादव दुबैले यो ध्रुवीकरणको सुरुवात भएको बताएका छन् । यादवले अब सानो सानो पसल थाप्न आवश्यक नभएको भन्दै एकतामा आउन राष्ट्रिय जनता पार्टीलाई आह्वान गरेका छन् । अर्का अध्यक्ष भट्टराईले नेकपा र कांग्रेस पार्टीमा निसास्सिएर बसेकाहरुलाई ध्रुवीकृत हुन आह्वान गरे ।

समाजवादी पार्टीले संविधान संशोधन गरेर उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार १०+१ प्रदेश बनाउनुपर्ने माग अघि सारेको छ । पार्टीका अध्यक्ष यादवले संविधान संशोधन गर्दा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने र स्थानीय तहलाई प्रदेशको मातहतमा ल्याउनुपर्ने बताए ।