Chairman Prachanda Buddha Speech
 

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश र जनताका लागि आवश्यक पर्‍यो भने सबै चिज त्यागेर गौतम बुद्ध जस्तै बन्न सक्ने बताउनुभएकाे छ।

पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशका लागि, जनताका लागि र समृद्विका लागि जरुरी पर्‍यो भने गौतमबुद्धको बाटोमा हिँड्न सक्ने बताउनुभएकाे हाे।

‘बाँकी जीवन अब समृद्वि र देशमा शान्ति सुदृढ गर्नको निम्ति तयार छ ।’ उहाँले भन्नुभयाे – ‘हिजो मैले जंगल जान्छु भनेको फेरि लडाईं र हिंसाका लागि जान्छु भनेको होइन । भन्न खोजेको के भने देशको लागि र जनताका लागि जरुरी पर्यो भने म सबै कुरा त्यागेर जंगल जान तयार छु ।’

अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयाे – ‘फेरि पनि त्याग गर्न मलाई केही चाहिएको छैन । सम्पत्ति चाहिएको छैन । घर-गाडी चाहिएको छैन । म फेरि पनि दुःख गर्न सक्छु । यो कुरालाई त्यही रुपमा बुझियोस् ।’ हिजो पनि निकै ठूलो त्याग गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे  –  ‘त्याग त त्याग नै हो । त्यागका पनि धेरै खाले रुप हुन्छन् । त्यसैले म आवश्यक परे अब देशको लागि जनताका लागि समृद्विका लागि जंगल जान तयार छु ।’

हेर्नुहाेस अध्यक्ष प्रचण्डको  सम्बाेधनकाे संक्षिप्त पाठ

२१ औं शताब्दीमा म एउटा सानो किसानको छोरा हुँ । नेपालमै जन्मिएको । तर मलाई नियतिले भन्नुस् या कर्मले । मैले युद्वको पनि नेतृत्व गर्ने अवसर पाएँ । नेपालमा ठूलो राजनीतिमा परिवर्तन ल्याउने । जनताको हितमा जनताको पक्षमा भनेर लड्ने पनि जिम्मेवारी मलाई आयो । म त्यो कर्ममा करिब-करिब कृष्णले अर्जुनलाई उत्प्रेरित गरे जस्तो । मैले पनि एउटा दर्शनबाट उत्प्रेरित भएर अर्जुनलाई लडाईंमा धकेले जस्तो कर्मले लडाईंतिर लग्यो । र, एउटा भिन्न परिवेशमा फेरी शान्ति प्रक्रियामा फेरि नेतृत्व गर्ने अवसर मिल्यो ।

शान्ति सम्झौतामा हस्ताक्षर गर्ने सातपार्टीको तर्फबाट दिवंगत गिरिजाप्रसाद कोइराला र विद्रोहीको तर्फबाट मैले हस्ताक्षर गर्ने अवसर प्राप्त भयो । लुम्बिनीमा एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा जाँदा मैले के स्मरण गरे भने कि बुद्धको दर्शनलाई-शिक्षाहरुलाई सबैभन्दा राम्रोसँग स्थापित र प्रचार कसले गर्‍यो भन्दाखेरी अशोक सम्राटले । लुम्बिनीमा अशोकको स्तम्भ छ – सम्राट अशोक ।

अशोकले लुम्बिनीमा आएर बुद्ध जन्मेको ठाउँ यहीँ हो । धेरैले त्यहीँबाट बुद्धको शिक्षा पाए भनेर अशोकले ‘अशोक स्तम्भ’ ठड्याएपछि हामीलाई इतिहासको अध्ययन गर्न, बुद्धको बारेमा जानकारी प्राप्त गर्न, शान्तिको महत्त्व बारे बुझ्न र अहिसांबारे बुझ्न मद्दत गर्यो । आखिर अशोक को थिए भन्दाखेरि त्यत्रो ठूलो सेनाका कमाण्डर थिए । र, एउटा साम्राज्य खडा गर्ने विद्रोही थिए । उनले पनि निकै ठूलो लडाईंको नेतृत्व गरे ।

धेरै लडाईं जित्दै अगाडि बढेकाले अन्तिम लडाईंको रुपतिर जाँदा उनले हजारौं मान्छेको शवहरु देखे । सबै आफ्नै नातागोता दाजुभाइ दिदीबहिनी थिए । त्यस्तो बेहाल अवस्था देखेपछि अशोकलाई यो बाटोबाट अगाडि बढ्नु मानव हितमा छैन भन्ने पर्‍यो । त्यस्तो निष्कर्षसहित फेरि बुद्धको बाटो पक्रेर शान्तिको बाटो पक्रेर उनै शान्तिको अग्रदूत भए । अहिले अशोकलाई मान्छेले एउटा ठूलो कमाण्डरको रुपमा सम्झिँदैनन् । बरु बुद्धको अग्रदूतको रुपमा सम्झिन्छन् ।

कहिलेकाहीँ मलाई लाग्छ – एउटा मामुली गरिब किसानको छोरालाई युद्धको पनि नेतृत्व गर्ने, शान्तिको पनि नेतृत्व गर्ने र समृद्विको पनि नेतृत्व गर्ने अवसर जुर्‍यो । मलाई २६०० वर्ष अगाडिको त्यो इतिहासको अलि-अलि झल्को सपनामा बेला बेला आइराख्छ ।

(अध्यक्ष प्रचण्डकाे सम्बाेधनकाे सम्पादित अ‌ंश यहाँ प्रकाशन गरेका छाैं – सम्पादक)