press meet at Butwal
 

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले भेनेजुएला माथि गरेको हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक भएको बताउनुभएको छ ।

प्रगतिशील पत्रकार संघ नेपालले रुपन्देहीको बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले संसारका कुनै पनि न्यायप्रेमी जनतालाई अमेरिकी हस्तक्षेप स्विकार्य नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘संसारमा जहाँसुकै जनताको न्यायपूर्ण आन्दोलनको समर्थन र अन्याय गर्नेको विरोध गर्नुपर्छ ।’

केसीले भेनेजुएलाको सन्दर्भमा नेकपाका अध्यक्ष  प्रचण्ड प्रष्ट भएको तर अरू केही नेताहरु डराएको बताउँदै भन्नुभयो – ‘केही नेताहरुले अमेरिकालाई चिढ्याउन हुन्न भन्नुभएको छ, कम्युनिष्ट पार्टीको नेतृत्वले त्यस्तो दोधारे नीति लिनु हुन्न, स्पष्ट हुनुपर्छ । सही कुरा बोल्न किन डराउनु पर्‍यो ?’

आफ्नो पार्टी अमेरिकाको विपक्षमा रहेको बताउँदै केसीले नेकपाको सरकार दुई तिहाइको बलियो देखिए पनि एकता टिक्छ भनेर विश्वास गर्ने आधार नभएको बताउनुभयो । आफ्नै सरकारका विरुद्ध कसैले अविश्वासको प्रस्ताव राख्न सक्ने हुनाले यस्तो सरकारलाई जो कोहीले खेलाउन सक्ने उहाँको धारणा थियो ।

संघीय प्रणालीका कारण मुलुक अहिले अस्तव्यस्त बनेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । संघीयताप्रति जनतामा भएको भ्रम पनि हट्दै गएको भन्दै उहाँले काँग्रेस र नेकपाकै नेताको मनमा संघीयता कसरी पार लगाउने भन्ने चिन्ता भएको टिप्पणी गर्नुभयो ।

अहिले प्रदेशको न्वारन गर्न पनि हम्मेहम्मे भएको भन्दै उहाँले सिंहदरबारमा हुने भ्रष्टाचार तल गएको र प्रदेशमा पहिलो पटक गाडी किन्दा नै भ्रष्टाचार हुनु दुःखद भएको गुनासो गर्नुभयो ।