काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अब सबै मालपोत कार्यलयहरु आधुनिक र सेवाग्राहीमैत्री हुने बताउनुभएको छ ।
आइतबार बिहान कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गर्दै मन्त्री अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने जानकारी दिनुभयो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यलय सुधार गर्न १८ बुँदे कार्यसंरचना समेत सार्वजनिक गरेको छ । जसमा प्रत्येक कार्यालयमा एउटा सहायता कक्ष अनिवार्य राखिनेछ । जहाँबाट सेवाग्राहीले आफ्नो कामको सबै जानकारी पाउन सक्नेछन् ।
उहाँले कलंकीस्थित मालपोत कार्यालयमा छिट्टै सबै काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्ने, त्यसपछि असार मसान्तभित्र उपत्यका सबै मालपोत तथा नापी कार्यालयहरु र एक वर्ष भित्र देशभरका सबै मातपोत कार्यालयहरुको सेवा विद्युतीय प्रणालीबाट सञ्चालन गर्ने योजना अघि सार्नुभयो ।
मन्त्री अर्यालले सबै मालपोत कार्यालयबाटै बैंकिङ सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । सुशासन र सेवा ग्राहीको कामलाई सहज बनाउन आफूले ती सेवाहरु विस्तारका लागि कलंकीस्थित मालपोत कार्यालयलाई नमूना कार्यालयको रुपमा विकास गर्न लागेको मन्त्री अर्यालको भनाई छ ।