काठमाडौं, नेकपाका युवा नेता योगेश भट्टराईले युवाहरूको प्रतिभा र कार्यक्षमतामा नेपाली भविष्यको आशा रहेको बताउनुभएको छ ।
मंगलवार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ युथ कन्क्लेभ २०१९ मा आफ्ना धारणाहरु राख्दै युवा नेता भट्टराईले लामो समयदेखि शान्ति, सद्भाव र सहिष्णुतालाई अँगाल्दै आएको नेपाललाई अब आधुनिक विश्वमा चिनाउन युवा पुस्ताले देशमै केही गर्नुपर्ने धारणा राख्नुभयाे ।
काठमाडौँका युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा आयोजित कार्यक्रमममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई ‘युथ आइकन २०१९’ घोषणा गर्दै रु. एक लाख नगद सहित सम्मान गरिएको थियो ।
नेपालमै केही फरक काम गरी सफल हुन सकिन्छ भनी क्रिकेट क्षेत्रबाट युवाहरुको क्षेत्रमा योगदान दिए बापत उहाँलाई सम्मान गरिएको आयोजकले बताएको छ । सम्मान थाप्दै कप्तान खड्काले खेलकुदमार्फत राष्ट्रियताको भावना र एकता ल्याउन सकिने धारणा राख्नुभयो ।
चैतन्य इन्टिच्युट अफ म्यानेजमेन्टको सहयोग र राष्ट्रिय युवा परिषद्को प्रवद्र्धनमा सम्पन्न गरिएको कार्यक्रममा युवा विद्यार्थीहरूलाई सफलताका लागि सही दिशानिर्देश गर्ने उद्देश्यले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले प्रेरणात्मक सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले पर्यटन प्रबर्द्धनमार्फत समृद्धिबारे, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलीले ई–कमर्स र सूचना प्रविधिबारे, युट्युबर सिसन बानियाँले आफ्नो रुचीलाई व्यवसायमा कसरी परिणत गर्ने भन्ने बारे, ज्योति ग्रुपका निर्देशक तथा स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योतिले नेपालको व्यापारिक वातावरणबारे तथा सन्दीप क्षेत्रीले कसरी समूहमा चिनिने भन्नेबारे सम्बोधन गर्नुभएको थियो ।
युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने लक्ष्यका साथ आयोजित काठमाडौँ युथ कन्क्लेभ २०१९ मा काठमाडौँका विभिन्न कलेजहरूबाट करिब तीन हजार विद्यार्थीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न कलेजका तर्फवाट सांस्कृतिक प्रस्तुतिहरू, प्रदर्शनी, खाना स्टल, गेम जोन लगायत पनि राखिएको थियो ।