Krishna Bahadur Mahara Amarsingh, Speaker of the Federal Parliament of Nepal
 

काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले शनिबार एक शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुश्लिम समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

सभामुख महराले जारी गर्नु भएको शुभकामना सन्देशमा “इस्लाम धर्मावलम्बीहरुले भव्य रुपमा मनाउने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु,”  उल्लेख छ ।

शुभकामना सन्देशको पूर्ण पाठः

इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजानको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुश्लिम समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । इस्लाम धर्मावलम्बीहरुले भव्य रुपमा मनाउने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचानहरु हुन् । हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी छौं । यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ । यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमजान पनि एक रहेको छ ।

इस्लाम दर्शनअनुसार रमजान पर्वमा मुश्लिम समुदायले महिनाभर रोजा अर्थात् व्रत बस्ने गर्दछन् । यस पर्वको मुख्य सन्देश भनेको मानिसलाई सत्मार्गमा डोर्‍याउनु, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरित गर्नु हो । यस पर्वले हामी सबैलाई धार्मिक–सांस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा प्रदान गरोस्, यहीँ शुभकामना व्यक्त गर्दछु ।

२८ बैशाख, २०७६

कृष्ण बहादुर महरा
सभामुख

Krishna Bahadur Mahara