Karl Marx, Frederick Engles, Lenin, Stalin, Mao ZeDong
 

मार्क्सवादी दर्शनः

विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो ।

आज यो मार्क्सवादी, लेनिनवादीमाओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले विकसित हुन पुगेको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेको मार्क्सवादी दर्शन हो, जसले विश्वको व्याख्या मात्र गरेको छैन, अपितु बदल्ने आँखा पनि खोलिदिएको छ ।

सामान्यतयाः अहिले सम्मको मानव समाजको विकास र विशेषतः १८ औं शताब्दी उत्तरार्ध पछिको सामाजिक क्रान्ति, अग्रग्रामी उथलपुथल र गुणात्मक फड्कोको गर्भमा यही दर्शनले काम गरेको छ । मार्क्सवादी दर्शनको विकासमा लेनिन र माओले ठूलो योगदान पुर्‍याउनु भएको छ, जसलाई हामी यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

मार्क्सवादी दर्शनको विकासमा लेनिनवादी आयामः

Shishir Shrestha Milan Afanta
लेखक

दर्शन सम्बन्धी मार्क्सवादी सिद्धान्तका सवालमा लेनिनले व्याख्या गर्नुभएको छ, ‘‘हामी मार्क्सका सिद्धान्तलाई कुनै अन्तिम र अनुल्लङ्घनीय ठान्दैनौं । यसको विपरीत हामी के कुरामा विश्वास गर्छौँ भने यसले केवल त्यस विज्ञानका जगको ढुङ्गा मात्र हालेको छ । जसलाई समाजवादीहरुले दशै दिशामा विकसित तुल्याउनै पर्छ । यदि उनीहरु जीवनसँगै कदम मिलाउन चाहन्छन् भने यस सिद्धान्तले केवल सामान्य निर्देशक सिद्धान्त मात्र प्रदान गर्दछ । जसलाई विशिष्ठ रुपमा बेलायतमा फ्रान्सको भन्दा फरक, जर्मनीको भन्दा बेग्लै र जर्मनीमा रुसको भन्दा भिन्न ढङ्गले प्रयोग गरिएको छ ।’’

मार्क्सवादी दर्शनको आधारमा लेनिनले सञ्चालन र नेतृत्व गर्नुभएको व्यवहारिक क्रान्ति मार्फत मार्क्सवादी सिद्धान्तले द्वन्द्वात्मक भौतिकवादको वैज्ञानिकता मात्र पुष्टि गर्नु भएन अपितु सर्वहारा वर्गलाई दासताबाट मुक्त गर्दा अन्य सम्पूर्ण उत्पीडित जात, राष्ट्र, क्षेत्र, लिङ्ग, वर्ग र समुदाय पनि मुक्त हुने वैज्ञानिकतालाई प्रमाणित गरिदिनु भयो, जसको कारण मार्क्सवादी दर्शनको आलोकमा संसारभर सर्वहारा क्रान्तिको लहरनै सृष्टि भयो ।

मार्क्सवादी दर्शनको विकासमा माओवादी आयाम

माओले मार्क्सवादी लेनिनवादी दर्शनलाई ज्ञान सिद्धान्तको रुपमा परिभाषित गर्नुभएको छ र सही ज्ञान भनेको वर्ग संघर्ष, उत्पादनका निमित्त संघर्ष र वैज्ञानिक प्रयोगबाट आर्जन कुराको स्पष्ट व्याख्या गर्नुभएको छ । माओले फासीवादी रुपधारण गरेको साम्राज्यवाद र सर्वहारा वर्ग तथा अर्ध सामान्ती, अर्ध उपनिवेसिक अवस्थाकै उत्पीडित जनता र राष्ट्रको बिचको अन्तरविरोधलाई सही ढंगले विश्लेषण गरी त्यसको समधानको रुपमा नयाँ जनवादी क्रान्तिको संश्लेषण गर्नुभयो, जसलाई चिनियाँ भूमिमा व्यवहारिक प्रयोगसहित प्रमाणित गरेर देखाइदिनु भयो । उहाँले विशेषतः तेस्रो विश्वका मुलुक र त्यहाँको जनताको राष्ट्रियता र प्रजातन्त्रको एकीकृत मुक्तिको मार्ग पहिल्याउने सवालमा मार्क्सवादी, लेनिनवादी दर्शनको सिर्जनात्मक प्रयोग र विकास गर्नुभएको छ ।

मार्क्सवादी दर्शनमा मार्क्स, ऐङ्गेल्स हुँदै लेनिन, माओले धेरै नै विकास गर्नु भएको छ, जसबारे हामीलाई मार्क्सवादी दर्शनको विकासमा लेनिनवादी आयामबाट र मार्क्सवादी दर्शनको विकासमा माओवादी आयामबाट स्पष्ट हुन्छ ।

मार्क्सवादीको सैद्धान्तिक तथा वैचारिक मार्गदर्शनबिना विश्व क्रान्ति संभव छैन । मार्क्सवादी दर्शन भनेको हरेक वस्तु, प्रकृति र मानव समाजलाई बुझ्ने र त्यसै अनुसार आफ्नो जीवनको बाटो ठम्याउने वास्तविक भित्रि दृष्टि हो । मार्क्सवादी दर्शनको मूल कडी द्वन्द्वात्मक भौतिकवाद भनेको सर्वहारा वर्गको मुक्तिको दर्शन हो । साँचो अर्थमा भन्ने हो भने मार्क्सवादी दर्शन सर्वहारा वर्गको मुक्तिको मार्ग हो ।