काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ ।
राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको महिलाको अवस्थाको परिषदद्धारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई शुक्रबार अपरान्ह स्वदेश फर्किनुभएको हाे।
कार्यक्रममा राष्ट्रपतिले नेपालले महिला अधिकार, लैंगिक समानतालगायतका मानवअधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत गर्नुभएको थियाे ।
राष्ट्रपतिले सम्मेलनलाई सम्बोधन गर्नुका साथसाथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा सर्प
न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।
राष्ट्रपति साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्ने कार्यक्रम थियो । उहाँको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थलतर्फ जाँदै हुनुहुन्थ्यो ।
स्वागतका लागि केही विशिष्ट व्यक्ति आउने क्रम जारी नै रहेको समयमा एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा पर्यो ।
केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको आगमन भएको थियो ।