काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र प्रहरी बिच मंगलबार साँझ काभ्रेमा दोहोरो फायरिङ भएको छ।
काठमाडौँका विभिन्न ठाउँमा बम विस्फोट गराउने समूहको खोजीमा गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली र विप्लवका कार्यकर्ता बिच काभ्रेको रोशी गाउँपालिका-२ फलामेसाँघुमा दोहोरो फायरिङ भएको हो।
महाशाखाका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गर्न खाेज्दा माओवादी कार्यकर्ताले गोली चलाएका थिए । प्रहरीका अनुसार दुवैतर्फ कुनै क्षति भएको छैन ।
नख्खु, बसुन्धरास्थित मेनपावर कम्पनीका अध्यक्षको घरमा बिस्फोट गराउने र कमलपोखरी लोत्सेचोकको आँगन मिठाइ पसलमा बम राख्ने समूह त्यहाँ रहेको जानकारीका आधारमा प्रहरी पुगेको थियो। रोशी गाउँपालिका काभ्रेको विकट क्षेत्र हो।
राजधानीका विस्फोटका घटनामा संलग्नहरूमाथि अनुसन्धान सिलसिलामा केही व्यक्ति रोशी गाउँपालिकामा रहेको टेलिफोन ‘लोकेसन ट्रयाक’ गर्दै प्रहरी त्यहाँ पुगेको थियो। घटनाकाे थप जानकारी आउन वाँकी रहेकाे महानगरीय अपराध महाशाखाले लेफ्ट रिभ्यु अनलाइनलाई बताएकाे छ ।