kpoli
 

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । शनिवार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीसँग आफ्नै निवास बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्दा व्याजदर घटाउन वैंकहरुलाई आग्रह गर्नुभएको हो ।

उत्पादनमुलक कार्य, रोजगारीका अवसर सृजना गर्ने कार्य, आत्मनिर्भर हुने कार्य र निर्यातजन्य उद्योगमा लगानी गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता कार्यमा लगानी गर्दा कम व्याज लिन अनुरोध गर्नुभयो । उहाँले कृषि क्षेत्रमा सबै भन्दा बढी लगानी गर्न र सबभन्दा कम ब्याज उठाउन पनि निर्देशन दिनुभयो ।

महासंघको टोलीले बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीसँग साक्षात्कार गरेको हो ।

प्रधानमन्त्ती ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशन समेत दिनुभयो ।