Matrika prasad Yadav
 

काठमाडौँ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा रहेको बताउनु भएको छ ।

शुक्रवार बसेको सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभा वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले बजारलाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेको बताउनुुभयो।’

उहाँले विगतका दिनमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न सकिने अवस्था नरहेको र अहिले बजारमा सरकार छ भन्ने अनुभूति जनतालाई गराइरहेको स्पष्ट पार्नुभयो । निरन्तर बजार अनुगमन भइरहेको उल्लेख गर्दै मन्त्री यादवले सरकार आफैँले सबै उद्योग चलाउने पक्षमा नरहेको प्रष्ट्याउनुुभयो ।

सरकारले किसान, उपभोक्ता र उद्योगी सबैको हितमा काम गरिरहेको बताउँदै उहाँले उपभोक्ताको हितमा पारित भएका कानूनको कार्यान्वयनमा जोड दिएको बारे सदनलाई जानकारी दिनुभयो।

उखु किसानको पक्षमा अझै पनि धेरै काम गर्नुपर्ने र किसानको समस्या सुल्झाउन आफू निकै प्रयासरत भएको उहाँको भनाई थियो ।

बैठकमा सांसदहरुले उखुको मूल्य नतोकिँदा किसान मर्कामा पर्नुका साथै खरीद गरेका उद्योगले भुक्तानी नदिँदा किसान अप्ठेरोमा परेकाबारे प्रश्न गरेका थिए ।