Venezuela Solidarity Kathmandu
 

काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाका जनता, राष्ट्र र क्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्दै काठमाडौँमा एक कार्यक्रम सम्पन्न भएको छ ।

बिहिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा साम्राज्यवाद विरोधी मोर्चाले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री  नारायणकाजी श्रेष्ठ (प्रकाश) ले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप वर्ग र विचारधारा बिचको लँडाई भएको बताएका छन् ।

साम्राज्यवाद र पुँजीवादको विरुद्ध भेनेयुएला समाजवादको दिशातिर जान प्रयत्न गरिरहेको अवस्थामा त्यसलाई असफल बनाउन अमेरिका लागिरहेको भन्दै नेता श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताका लागि एकढिक्का भएर अमेरिकी हस्तक्षेपको बिरुद्ध अवाज उठाउन आग्रह समेत गरे ।

अमेरिकाले अहिले भेनेजुएलाविरुद्ध चालेको कदम वैदेशिक हस्तक्षेप भएको भन्दै नेता श्रेष्ठले नेपाल लगायत संसारभरका मुलुकहरुले सावैभौमिकता र स्वाधिनताको सम्मान गर्दै अमेरिकाको यो कदमको विरोध गर्नुपर्नेमा जोड दिए । भेनेजुएला र अमेरिका बिचको यो टकराव शान्ति र युद्ध बिचको टकराव समेत भएको भन्दै नेता श्रेष्ठले युद्धको पक्षमा होइन शान्तिको पक्षमा उभिनुपर्ने धारणा राखे । उनले भेनेजुएलका पक्षमा बोल्नु भनेको लोकतन्त्र र शान्तिको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताए ।

सवै देशको आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमान हुने बताउँदै नेता श्रेष्ठले यो हस्तक्षेप समाजवादी विचारधारा र श्रमजीवी वर्गमाथिको हस्तक्षेप भएको टिप्पणी गरे । कुनै एउटा देशको सार्वभौमसत्तामाथि अर्को देशले गर्ने हस्तक्षेप गलत भएको भन्दै प्रमुख बक्ता श्रेष्ठले यो केवल भेनेजुएला र अमेरिका विचको सवाल नभई एउटा समाजवादी देश बिरुद्ध पुँजीवादी देशको हस्तक्षेपको सवाल भएको ठोकुवा गरे ।

अवसर मिल्नासाथ साम्राज्यवादीहरुले कुनैपनि देशमा आफ्नो स्वार्थ लाद्न खोज्ने आरोप लगाउँदै नेता श्रेष्ठले भेनेजुयला माथिको अमेरिकी हस्तक्षेप लोकतान्त्रिक विधी र मान्यताको विरुद्ध रहेको जिकिर गरे । उनले अगाडि भने – ‘लोकतन्त्रका लागि भेनेजुएलामाथि हस्तक्षेप होइन, लोकतन्त्रका विरुद्ध भेनेजुएलामाथि हस्तक्षेप भएको छ ।’

कार्यक्रमका अर्का वक्ता साम्राज्यवाद विरोधी मोर्चाका संयोजक एवम् विश्लेषक, लेखक तथा पत्रकार नरेन्द्रजङ्ग पिटरले अहिले हामीले भेनेजुएलाको पक्षमा नबोले भोली हाम्रो पक्षमा कसैले नबोल्ने बताए । ‘यो समस्या भेनेजुएला र अमेरिकाको मात्र नभई समाजवादी चिन्तनको धारा र कर्पोरेट राजनीतिको समस्या हो । मानवताको पक्षमा उभिने कि युद्ध पिपासुको बीचमा उभिने ?’ पिटरले प्रश्न गरे ।

भेनजुएलाको पक्षमा उभिनु भनेको हाम्रै समस्याको बीचमा उभिनु भएको भन्दै वक्ता पिटरले साम्राज्यवादको विरोध गर्न नसक्नेले निर्मला हत्याकाण्ड, वाइडबडी र यस्ता अन्य धेरै काण्डमा पनि बोल्न नसक्ने तर्क गरे । यो सवाल १५ हजार ४४ किलोमिटर टाढा रहेको एउटा सानो देशको मात्र नभई समाजवादी चिन्तन र साम्राज्यवादी चिन्तन बिचको टकरावको कुरा भएको भन्दै विश्लेषक पिटरले सबैलाइ मानवताको पक्षमा उभिन आग्रह गरे ।

ऋषि कट्टेल नेतृत्वको नेकपाका उपाध्यक्ष तथा वाम विश्लेषक लोकनारायण सुवेदीले साम्राज्यवादीको चरित्र विरुद्ध पुर्खाहरु पनि लड्दै आएका र अहिलेको पुस्ता पनि लड्नुपर्नेमा जोड दिए । भेनेजुएलामा जस्तै नेपालको सार्वभौम अखण्डता पनि खतरामा रहेकोले यसका निमित्त पनि एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपाका अर्का नेता तथा राष्ट्रिय सभाका सदस्य बलराम बाँस्कोटाले भेनेजुएलामाथि हस्तक्षेप हुनु भनेको समाजवादमाथिकै आक्रमण भएको ठोकुवा गरे । भेनेजुएलामा चरम गरिबी, मुद्रास्फिति  र द्वन्द्व छ भनेर अमेरिकाले नयाँ भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफू भर्खरै भेनेजुएला पुगेर आएको र त्यहाँ त्यस्तो केही नभएको स्पष्ट पारे । उनले अगाडि भने – यो भेनेजुएलाका श्रमजीवी जनतामाथि अमेरिकाले गरेको षडयन्त्र मात्र हो ।’

साम्राज्यवाद विरोधी मोर्चाका सदस्य नरेश ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा वामपन्थी नेताहरु, बुद्धिजिवी, पत्रकार र लेखकहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन नहेन्द्र खड्काले गरेका थिए ।

कार्यक्रमका केहि झलकहरुः

Narayan Kaji Shrestha Prakash

Venezuela Solidarity-anti-imperialist forum nepal

Venezuela Solidarity-anti imperialist forum

Venezuela solidarity anit-imperialist forum, Nepal

Venezuela solidarity anit-imperialist forum, Nepal participants

Venezuela solidarity anit-imperialist forum, Nepal