काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ ।
माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको छ ।
पार्टी महासचिव मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित वस्तव्यमा भनिएको छ, “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भर्त्सना गर्दछ ।”
हेर्नुहोस् वक्तव्यको पूर्ण पाठः
नेपाल कम्युनिष्ट पार्टी (मसाल),
केन्द्रीय कार्यालय
वक्तव्य
भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिंदै आएका थिए र आफ्नो देशमा समाजवादी प्रकारका नीतिहरू लागू गर्दै आएका थिए । त्यस प्रकारका नीतिहरूका कारणले नै अमेरिकाले भेनेजुएला र त्यहाँका राष्ट्रपतिका विरुद्ध सत्रुतापूर्ण र आक्रमक नीति अपनाउँदै आएको थियो । त्यही क्रममा नै अहिले एउटा कठपुतली राष्ट्रपतिलाई खडा गरेर अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई अपदस्थ गर्ने दुस्साहस गरेको छ । त्यसले पहिले पनि धेरैपल्ट त्यस प्रकारको प्रयत्न गर्दै आएको थियो र ती सबै असफल हुँदै आएका थिए । त्यसअनुसार अहिले पनि उसको प्रयत्न असफल हुनेछ भन्ने कुरा निश्चित छ ।
अन्तमा हाम्रो पार्टीले भेनेजुएलाका जनता र त्यहाँका राष्ट्रपति मडुराको अमेरिकन साम्राज्यवादका विरुद्धको अडान तथा समाजवाद र आफ्नो देशको राष्ट्रियताका पक्षमा अपनाएको नीतिलाई दृढतापूर्वक समर्थन गर्दछ । भेनेजुएकाका जनताका अमेरिकन साम्राज्यवादका विरुद्धको सङ्घर्षमा पनि आफ्नो ऐक्यवद्धता प्रकट गर्दछ ।
२०७५ माघ ११ गते
मोहनविक्रम सिंह
महामन्त्री