काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् । सोमबार संसदलाई काठमाडौँ उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समूहले जनमुक्ति सेनाकाे रूपमा चार कम्पनी पनि निर्माण गरिसकेको बताएका हुन् ।
संसदलाई जानकारी दिंदै उनले भने, ‘उनीहरुले जनसरकारको रूपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रूपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’ गृहमन्त्री थापाले विप्लव समूहको मुख्य निशानामा काठमाडौँ उपत्यका परेको समेत बताएका छन् ।
गृहमन्त्री थापाले काठमाडौँका दुई ठाउँमा भएको विस्फोटमा मर्नेजति सबै विप्लव समूहकै कार्यकर्ता भएको जनाए । उनले भने, ‘विस्फोटबाट ४ जनाको मृत्यु भएको छ । भने झण्डै आधा दर्जन घाईते भएका छन् । मृत्यु भएका कुनै नागरिकको मृत्यु भएको छैन् । यो समूहसँग सम्बद्ध कार्यकर्ताहरूको मृत्यु भएको छ । घाइते भएका छन् ति पनि समूहसँग सम्बद्ध अधिकांश कार्यकर्ता नै छन् ।’
विप्लव समूहले शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै थापाले हिंसात्मक गतिविधि चाँडै नियन्त्रण लिइने बताए । ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मूल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ गृहमन्त्री बादलले भने, ‘यो समूहलाई मूलधारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिबद्ध छ ।’













