Kisan-apeal-left-review
 

निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संगठनले संयुक्त विज्ञप्ति निकालेका छन् । यो मलको अभाव कमिसनको चक्करमा देउबा सरकार र यसका कृषि मन्त्री रामकृष्ण यादवले कृतिम रुपमा सिर्जना गरेका दाबी गर्दै ती संगठनहरुले यसलाई अबिलम्ब समाधान गर्न आग्रह गरेका छन् ।

हेर्नुहोस् प्रेस विज्ञप्तिको पूर्ण पाठ ।

मिति २०७४/०८/१२

प्रेस विज्ञप्ती

आज किसान बाहुल्य देशका आम नेपाली किसानहरुलाई एकातिर संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चटारो छ भने अर्कोतिर धान भित्राएर गहुँ, जौ, उवा, तोरी लगायतका मुख्य खाद्यान्न र मौसमी तथा बेमौसमी तरकारी रोप्ने आत्तुरी छ । समय र जनशक्तिको अभावले समस्याग्रस्त किसानहरुमाथि वर्तमान देउवा सरकारले रासायनिक मल, प्रांगारिक मल र गहुँ तथा तोरीको बिउको कृतिम अभाव सिर्जना गरी थप पीडा दिएको छ र किसानहरुलाई चौपट बनाएको छ ।

हाम्रो देशमा गहुँ बाली धान र मकै पछि तेस्रो सबैभन्दा महत्त्वपूर्ण खाद्य बाली हो भने तोरी सबैभन्दा महत्त्वपूर्ण तेलबाली हो । त्यसरी नै आलु सबैभन्दा मुख्य खाद्य तथा तरकारी बाली हो । यी सबै रोप्ने मौसम यही हो । त्यसरी नै तराई र मध्यपहाडी क्षेत्रमा मौसमी र बेमौसमी तरकारीहरु रोप्ने समय पनि यही हो । यस्तो अवस्थामा देशको दुई तिहाई जनसंख्या ओगट्ने किसानहरुलाई सहज रुपले रासायनिक मल, प्रांगारिक मल र गुणस्तरीय बिउबिजन र सिँचाईको व्यवस्था गर्नु राज्यको दायित्व हो । तर यस्तो मुख्य समयमा देशैभर गहुँ र तोरीको गुणस्तरीय बिउ, रासायनिक मल र प्रांगारिक मलको अभाव भएको छ । यस्तो मौका छोपेर सरकारमा संलग्न मानिसहरुको संरक्षणमा देशभर रासायनिक मलको तस्करी र कालोबजारी भइरहेको छ । यसबाट वर्तमान देउबा सरकार र त्यसका कृषिमन्त्री किसान विरोधी भएको कुरा प्रस्ट भएको छ ।

कमिसनको चक्करमा देउबा सरकार र यसका कृषिमन्त्रीले पटक पटक रासायनिक मलको आपूर्तिका लागि खोलिएका टेन्डरहरु रद्द गर्नु र कलकत्ता बन्दरगाहमा रहेको रासायनिक मलको समेत आपूर्तिको व्यवस्था नगर्नुको परिणामस्वरुप यो अभाव सिर्जना हुन गएको हो । यो अभाव देउबा सरकार र कृषि मन्त्रीले कमिसनखोरीका लागि आफैले सिर्जना गरेको कृतिम अभाव भएको कुरा पनि हामी आम जनसमुदायलाई जानकारी गराउन चाहन्छौँ । तसर्थ हामी बाम गठबन्धनमा आबद्ध तपशीलका किसान संगठनहरु देउबा सरकारको यो किसान विरोधी हर्कतको कडा शव्दमा निन्दा र भत्र्सना गर्दै तत्काल रासायनिक मल र गहुँको बिउको सहज आपूर्ति गराउनका लागि जोड्दार माग गर्दछौँ । यदि कमिसनखोरीका कारण नियतबस रासायनिक मल र गहुँको बिउको अभावको अन्त्य गर्न ठोस कदम नचालेमा निर्वाचनको समय समेत नभनी हामी संघर्षमा जान बाध्य हुने कुरा यसै विज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौँ र आम नेपाली किसानहरुलाई संघर्षका लागि तम्तयार भएर बस्न समेत हार्दिक अपील गर्दछौँ ।

हार्दिक क्रान्तिकारी अभिवादन सहित ।

  • अखिल नेपाल किसान महासंघ, राष्ट्रिय समिति ।
  • अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), केन्द्रीय समिति । 
  • अखिल नेपाल किसान संघ, केन्द्रीय समिति ।
  • नेपाल किसान फेडेरेसन, केन्द्रीय समिति । 
  • अखिल नेपाल प्रगतिशील किसान संघ, केन्द्रीय समिति ।