मंसिर २१, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भए पछिको यो पहिलो ऐतिहासिक निर्वाचनले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो फराकिलो पार्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
निर्वाचन सम्पन्न भएपछि प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले ‘निर्वाचनमा उल्लासमय सहभागिताबाट नेपाली जनताले समावेशी लोकतन्त्रप्रतिको निष्ठासँगै आफ्नो सम्प्रभुता र निर्णय क्षमता पनि शानदार ढंगले प्रमाणित गरेको’ बताएका छन् ।
प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ – ‘प्रदेश र प्रतिनिधि सभाको ऐतिहासिक निर्वाचन सामान्य अपवाद बाहेक अत्यन्त शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । निर्वाचनका लागि अहोरात्र खटिएका सबै राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सञ्चारजगतसँगै अन्तर्राष्ट्रिय समुदायप्रति पनि म धन्यवाद र आभार प्रकट गर्दछु । यो निर्वाचनको सफलतासँगै राष्ट्रको प्रगति र समृद्धिका लागि हामी सबै एकजुट हुनेमा म विश्वस्त छु ।’









