चितवन । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पीएचडीले फेसबुकमा स्टाटस अपडेट गर्दै पराजयका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशित गरेका छन् ।
गोरखा क्षेत्र नं. २ बाट संघीय प्रतिनिधि सभा सदस्यका लागि पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशसँग चुनावी प्रतिस्पर्धामा रहेका पीएचडी भट्टराईले आफ्नो फेसबुक पेजमा अंग्रेजी र नेपाली मिश्रित भाषामा लेखेका छन् – “परीक्षा र चुनावी नतिजा पर्खिनेहरु सबैलाई मेरो स्थायी सुत्र छ है । होप फर द बेस्ट, प्रिपेअर फर द वर्स्ट । अनि नो टेन्सन् ।”
गोरखा क्षेत्र नं. २ को मतगणनाको क्रममा भट्टराई र श्रेष्ठले पालै पालो अग्रता लिएका छन् । तर पूर्व प्रम भट्राईले धेरै मत आउने अपेक्षा गरेका ठाउँहरुमा समेत राम्रो मत नआएको बुझे पछि आफ्नो पराजय पूर्ण रुपमा स्वीकार नगरे पनि आफूलाई मानसिक रुपमा पराजयका लागि तयार गरेको र नयाँ शक्ति पार्टीका कार्यकर्ताहरुलाई समेत पराजयका लागि मनोवैज्ञानिक रुपले तयार गर्न सो स्टाटस अपडेट गरेको अनुमान गरिएको छ ।
आज साँझ ५ बजेर २३ मिनेटमा निर्वाचन सम्पन्न भएकोमा फेसबुक मार्फत सबैलाई बधाई दिएका नेता भट्टराईले राति १० बजेर ८ मिनेटमा अर्काे स्टाटस अपडेट गरी “प्रिपेअर फर द वर्स्ट।” भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो गणना अनुसार बामगठबन्धनका उमेद्वार श्रेष्ठले १८२४ मतका साथ अग्रता लिएका छन् भने लोकतान्त्रिक गठबन्धनका भट्टराईलाई १७८९ मत प्राप्त भएको छ ।











