Sinhuli Lal Killa
 

काठमाडाैँ । ऐतिहासिक सिन्धुली गढीमा अंग्रेजहरुलाई परास्त गरेर इतिहासमा नाम राख्न सफल सिन्धुली यसपटक पुनः बामगठबन्धनको लालकिल्लाको रुपमा आफ्नो नयाँ परिचय बनाउन सफल भएको छ । यस पटकको निर्वाचनमा संघीय प्रतिनिधि सभाका २ र प्रादेशिक सभाका ४ गरी ६ वटै सिट बामपन्थीहरुले कब्जा गरेपछि सिन्धुली काँग्रेसमुक्त लालकिल्ला बनेको छ । यो जिल्ला महान सहिद ऋषिराज देवकोटा आजादको जन्मभूमि पनि हो ।

माअाेवादी नेता तथा पूर्वकृषि मन्त्री हरिबोल गजुरेलकाे फाेटाे
माअाेवादी नेता तथा पूर्वकृषि मन्त्री हरिबोल गजुरेल

सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट बाम गठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिवालय सदस्य हरिबोल गजुरेल ३० हजार १७९ मत प्राप्त गरी १२ हजार ५२ मतको फराकिलो मतान्तर कासाथ प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका नरेन्द्रजंग थापाले भने १८ हजार १२७ मतमा चित्त बुझाउनु पर्यो ।

२०६५ सालमा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) र नेकपा (एमाले)को गठबन्धन सरकारको पालामा गठित उच्चस्तरीय भूमिसुधार आयोगका अध्यक्ष समेत रहेका सिन्धुलीका प्रभावशाली नेता गजुरेल पूर्व कृषि विकास मन्त्री तथा सिन्धुली जिल्लाबाट मन्त्री बन्ने पहिलो व्यक्ति समेत हुन् । उनी २०४७ सालमा नेकपा (मसाल) बाट विद्रोह गरी नेकपा (एकता केन्द्र)सँग पार्टी एकतामा सामेल भएका वरिष्ट नेता हुन् । त्यतिबेला उनी सो पार्टीका महासचिव थिए भने डा. बाबुराम भट्टराई उनको मातहतका केन्द्रीय सदस्य मात्रै थिए ।

संघीय प्रतिनिधि सभा तर्फकै सिन्धुली क्षेत्र नं. १ बाट बामगठबन्धनको तर्फबाट नेकपा (एमाले)का उमेद्वार गणेशकुमार पहाडी ३२ हजार ५२९ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाल २२ हजार ३८९ मतमा सिमित भए ।

प्रादेशिक सभा सदस्य तर्फ १ को (क) मा बामगठबन्धनका उमेद्वार तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष १६ हजार ५२४ को मत प्राप्त गरी ५ हजार ५१५ को फराकिलो मतान्तर सहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका गंगाप्रसाद गिरी ११ हजार ९ मतमा नै रोकिए ।

क्षेत्र नं. १ को (ख) बाट प्रादेशिक सभामा बामगठबन्धनको तर्फबाट नेकपा (एमाले)का उमेद्वार प्रदीप कटुवालले १६ हजार ६१२ मत सहित विजय प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका श्यामकुमार घिमिरेले ११ हजार ९५५ मा चित्त बुझाउन बाध्य भए ।

त्यसरी नै क्षेत्र नं. २ को (क) बाट नेकपा (एमाले)का विनोद कुमार खड्काले १७ हजार ३६६ मत प्राप्त गरी विजय हासिल गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका माणिककुमार ढकालले ९ हजार ८५८ मत पाएका थिए ।

क्षेत्र नं. २ (ख) मा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य बुद्धिमान माझीले १३ हजार ७४९ मत ल्याई प्रादेशिक सभा सदस्य बन्न सफल भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका छेत्रबहादुर बमजन ८ हजार ५२३ मतमा रोकिए ।

यसरी सिन्धुलीगढीको काखमा अवस्थित सिन्धुली जिल्ला बामपन्थीहरुको किल्लामा परिणत हुन सफल भएको छ ।