सिन्धुली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अब कृषिमा लगानी गरी देशलाई समृद्ध बनाइने बताउनुभएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायतर्फको दोस्रो आङ्गिक क्याम्पस मरिण प्राकृतिक स्राेत व्यवस्थापन कलेजको आज मरिण गाउँपालिका–७, कपिलाकाेट, सिन्धुलीमा भवन शिलान्यास तथा कक्षा उद्घाटन गर्दै उहाँले वाम गठबन्धनको सरकारले कृषिमा मुठ्ठी खोलेर लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कृषिमा आधारित उद्योगविना नेपालमा खोलिने कुनै पनि उद्योग दीर्घकालीन हुन नसक्ने उहाँको तर्क छ । नेपालको विकास गर्ने हो भने व्यावसायिक र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपालमा दिगो विकास गर्ने हो भने कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिँदै अब वाम गठवन्धनको सरकारले अनुसन्धानसहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अब बन्ने सरकारले कृषि, प्राविधिक तथा अनुसन्धान विश्वविद्यालय खोल्न बजेटको अभाव हुन नदिइने उहाँले बताउनुभयो । दुई पार्टीबीच नेतृत्वको विषय टुङ्गिसकेको बताउँदै उहाँले अन्य केही प्राविधिक कुरा भने केही दिनमा नै मिल्ने बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले त्रिविले मन्त्रिपरिषद्को निर्णयलाई नमान्दा विश्वविद्यालय सञ्चालनमा नै समस्या भएको बताउनुभयो । सिन्धुलीको मरिण गाउँपालिका–७ मा खुलेको कृषि क्याम्पसमा हाल ५० विद्यार्थी अध्ययनरत छन् ।